काठमाडौं- युइएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा आज (बुधबार) राति स्पेनिस क्लब रियल मड्रिडले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को आतिथ्यता गर्दैछ।
खेल रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार राति १:४५ बजेबाट हुनेछ। च्याम्पियन्स लिगको उपाधि यात्रामा रहिरहन रियललाई नतिजा उल्ट्याउनुपर्ने चुनौती रहेको छ। पहिलो लेगमा रियल १–० गोलअन्तरले पराजित भएको थियो।
पीएसजीलाई १–० को जितले अघिल्लो चरण पुर्याउन प्रयाप्त रहेको छ। तर, रियललाई अघिल्लो चरणमा पुग्न २–० को जित आवश्यक छ। तर, स्टार खेलाडीले भरिएको पीएसजीविरुद्ध जित निकाल्न कठिन नै हुनेछ।
टोलीसँग लिओनल मेसी, नेयमार, एन्जल डि मारिया, मार्किन्हस र अचरफ हाकिमी जस्ता खेलाडी रहेका छन्।
यता, चोटका कारण युवा स्टार तथा अघिल्लो खेलमा गोल गरेका केलियन एमबाप्पेले खेल्नेमा शंका रहेको छ। एमबाप्पेको खुट्टामा चोट लागेका कारण सोमबार प्रशिक्षण गरेका थिएनन्। पीएसजीका प्रशिक्षक माउसियो पोचेट्टिनोले एमबाप्पे फिट भएको बताएका छन्।
एमबाप्पे उपलब्ध नभएको अवस्थामा अर्जेन्टिनाका फरवार्ड डी मारियालाई खेलाउने सम्भावना छ। यता, चोटका कारण सर्जियो रामोस पनि टोलीमा हुने छैनन्।
रियलको टोलीमा करिम बेन्जेमा, भिनिसियस जुनियर र लुका मोड्रिड जस्ता भर्पदा खेलाडी छन्। चोटका कारण टोनी क्रुसले खेल्नेमा शंका रहेको छ। मशलको चोटका कारण उनले पुनरागमन गर्ने अनुमान गरिएको छ।
यता, प्रतिबन्धका कारण क्यासमिरो र फर्लान्ड मेन्डी टोलीमा हुने छैनन्। रियालको नियमित टोलीमा रहेका क्यासमिरो र फर्लान्डले दुई पहेंलो कार्ड पाएका थिए। रियालका प्रशिक्षक कार्लो एन्सेलोट्टीले फ्रान्सका इडुवार्डो कामाभिङ्गालाई खेलाउने सम्भावना छ।
यी दुई टोलीबीचको पछिल्लो १० खेलमा रियलले ५ खेलमा विजयी भएका छन्। पीएसजीले ३ खेल आफ्नो पक्षमा पार्दा २ खेल बराबरीमा सकिएको छ।
रियालले २०१८ मा पीएसजीले अन्तिम–१६ मै समग्रमा ५–२ ले हराएको थियो। उक्त सिजन रियालले लगातार तेस्रोपटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो।
बुधबार राति नै १:४५ बजे नै अर्को प्रि-क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र पोर्चुगिज क्लब स्पोर्टिङ सिपीबीच प्रतिस्पर्धा हुनेछ। पहिलो लेगमा सिटीले ५–० को फराकिलो जित निकालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।