फाइल तस्बिर।
काठमाडौं– अर्को महिना थाइल्यान्डको राष्ट्रिय टोलीसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ जना खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुई मैत्रीपूर्ण खेलका लागि टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीले २५ खेलाडी छनोट गरेको जनाएको हो।
नेपाली टोलीले चैत १० गते थाइल्यान्डको राष्ट्रिय टोलीसँग पहिलो मैत्रीपूर्ण खेल खेल्ने तय छ।
त्यस्तै, नेपाली टोलीले चैत १३ गते चोनबुरी एफसीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्ने छ। दुवै खेल चोनबुरीको मैदानमा हुने एन्फाले बताएको छ।
२५ सदस्यीय टोलीमा कप्तान किरण चेम्जोङसहित तीन गोलरक्षक रहेका छन्। अन्य दुई गोलरक्षकमा टिकेन्द्र थापा र दीप कार्की छन्।
अघिल्लो महिना मरिसससँगको मैत्रीपूर्ण खेलमा टोलीमा रहेका गोलरक्षक विशाल श्रेष्ठ भने यसपल्ट सकेटिएका छैनन्। यस्तै, मिडफिल्डर विशाल राई तथा फरवार्डहरू विमल घर्तीमगर र सुनिल बललाई पनि यसपल्ट समेटिएको छैन। विशाल हालै सम्पन्न शहीद स्मारक ए डिभिजन लिगका उत्कृष्ट गोलरक्षक हुन् भने सुनील सर्वोत्कृष्ट खेलाडी हुन्।
नेपालले आगामी जुन महिनामा हुने एएफसी कप छनोट तेस्रो चरणको तयारी गरिरहेको छ। छनोट प्रतियोगिताको समूह ए मा नेपालले जोर्डन, कुवेत र इण्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।
यसअघि नेपालले माघ १५ गते र माघ १८ गते अफ्रिकी राष्ट्र मरिसससँग दुई मैत्रीपूर्ण खेल खेलेकोमा दुवै खेलमा नेपालले समान १–० को जित निकालेको थियो ।
छनोट भएका २५ खेलाडी :
किरण चेम्जोङ (गोलरक्षक), टिकेन्द्र थापा (गोलरक्षक), दीप कार्की (गोलरक्षक), आशिष लामा, आयुष घलान, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, नवीन गुरुङ, दर्शन गुरुङ, नितिन थापा, दीनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीपक गुरुङ, सुरज ज्यू ठकुरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द, जगजित श्रेष्ठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।