काठमाडौं– आर्सनलले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ। आइतबार राति सम्पन्न खेलमा आर्सनलले घरेलु टोली वाट्फोर्डलाई ३–२ ले पराजित गरेको हो।
आर्सनलको जितमा मार्टिन ओडेगार्ड, बुकायो साका र गाब्रियल मार्टिनेलीले गोल गरे भने घरेलु टोलीका जुआन हर्नान्डेज र मोउसा सिसाकोले गोल फर्काए। भिकारेज रोड वाट्फोर्डमा भएको खेलको पाँचौं मिनेटमा मार्टिन ओडेगार्डको गोलबाट आर्सनलले सुरुवाती अग्रता लिएको थियो। उनले बुकायो साकाको पासमा गोल गरेका थिए।
खेलको ११औं मिनेटमा किकोको पासमा जुआन हर्नान्डेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। ३०औं मिनेटमा साकाले एलेसान्द्रे लाकाजेटको पासमा गोल गर्दै आर्सनललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए।
खेलको ५२औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गरेपछि आर्सनल खेलमा ३–१ ले अघि बढ्यो । उनले लाकाजेटकै पासमा गोल गरेका थिए। खेलको ८७औं मिनेटमा मौउसा सिसाकोले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए। त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनलले खेल आफ्नो पक्षमा पार्न सफल भयो।
यो जितसँगै २५ खेलबाट ४८ अंक जोडेकोे आर्सनल चौथो स्थानमा उक्लिएको छ। पराजित वाट्फोर्ड २७ खेलबाट १९ अंक जोडेर १९औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।