काठमाडौं– फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ। पिएसजी घरेलु टोली निससँग १–० ले पराजित भएको हो।
खेलको निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी रहँदा वैकल्पिक फरवार्ड एन्डी डेलर्टले गरेको गोलमा पिएसजी स्तब्ध बन्न पुग्यो। एन्डी डेलर्ट ७०औं मिनेटमा कास्पर डोलवर्गको स्थानमा मैदान छिरेका थिए।
एलिएन रिभिरा निसमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा पिएसजीले बल पोसेसन राख्दै घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो।
यस सिजनको लिग वानमा पिएसजीको यो तेस्रो हार हो। यसअघि पिएसजी रेनेस र नान्टेससँग पराजित भएको थियो। हारसँगै शीर्षस्थानमा रहेको पिएसजीको २७ खेलबाट ६२ अंक रहेको छ। पिएसजीलाई हराएको निस ४९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।