काठमाडौं– नेपाली कांग्रेसको चितवन सभापतिमा राजेश्वर खनाल निर्वाचित भएका छन्। उनी शनिबार निर्विरोध निर्वाचित भएका हुन्। उनी केन्द्रीय सभापतिमा पराजित शेखर कोइराला पक्षका नेता हुन्।
सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने भएको थियो। तर प्रतिस्पर्धी मिलनबाबु श्रेष्ठले समर्थन गरेपछि खनाल निर्विरोध निर्वाचित भएका हुन्। श्रेष्ठ संस्थापन पक्षका उम्मेदवार थिए।
शुक्रबार भएको मतदानमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याएका थिएनन्। खनालले ७४६ र श्रेष्ठले ६६२ मत ल्याएका थिए। पहिलो चरणको प्रतिस्पर्धामा उत्तम जोशी, डा सूर्यकान्त घिमिरे र कैलाश कोइराला पनि होमिएका थिए। उनीहरुले क्रमशः ४७३, घिमिरेले ४२६ र कोइरालाले ४१२ मत पाएका थिए।
प्रतिस्पर्धा भएका अन्य पदाधिकारी र सदस्यहरुको मतगणना आइतबार मात्रै हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।