काठमाडौं- श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।
एन्फा कप्लेक्स सातदोबाटोमा शनिबार सम्पन्न खेलमा ब्वाइज युनियनलाई २–१ गोल अन्तरले हराएर भगवतीले दोस्रो जित निकालेको हो।
भगवतीको जितमा अमित लामाले एक गोल गरे। यता, ब्वाइज युनियनका कप्तान बिष्णुबहादुर सुनारले आत्मघाती गोल गरे। यस्तै, ब्वाइज युनियनका विनोद राईले एक गोल गरे।
खेलको छैटौं मिनेटमा विनोदले गोल गर्दै ब्वाइज युनियनलाई सुरुआती अग्रता दिलाएका थिए। तर, २७औं मिनेटमा ब्वाइज युनियनका कप्तान बिष्णुले आत्मघाती गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।
त्यसपछि, ८५औं मिनेटमा अमित लामाले गोल गर्दै भगवतीलाई २–१ को जित दिलाए।
यो भगवतीको लगातार दोस्रो जित हो। पहिलो खेलमा भगवतीले झम्सिखेल युथ क्लबलाई ३–१ गोल अन्तरले हराएको थियो।
जितसँगै भगवतीले २ खेलमा ६ अंक जोडेको छ। ब्वाइज युनियनले २ खेलमा ३ अंक जोडेको छ।
बाँसबारी र टुसालको बराबरी
यता, बाँसबारी क्लब र टुसाल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन्।
एन्फा कप्लेक्स सातदोबाटोमै भएको खेलमा बाँसबारी र टुसालले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन्।
प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही अवसरमा सिर्जना गरेपनि गोल गर्न भने सकेनन्। बराबरीसँगै बाँसबारीले २ खेलमा १ अंक जोडेको छ। टुसालले पनि २ खेलमा १ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।