काठमाडौं– रियल बेटिस स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति दोस्रो लेगमा रायो भालेकानोसँग १–१ गोलको बराबरी खेलेको रियलबेटिस फाइनलमा पुगेको हो।
समग्रमा ३–२ को जित निकाल्दै रियल बेटिसले फाइनलमा स्थान पक्का गरेको हो। रियल बेटिसले पहिलो लेगमा २–१ को जित निकालेको थियो।
प्रतिस्पर्धात्मक बनेको सेमिफाइनलको दोस्रो लेगमा दुवै गोल दोस्रो हाफको अन्त्यतिर भएको थियो। खेलको ८०औं मिनेटमा वेवीले फ्रिकिकमार्फत गोल गर्दै रायो भालेकानोलाई अग्रता दिलाएका थिए। तर, इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा घरेलु टोली बेटिसका लािग बोर्जा इग्लेसियसले गोल गर्दै फाइनलको यात्रा तय गराए।
रियल बेटिस १७ वर्षपछि फाइनलमा प्रवेश गरेको हो। २००४–०५ को सिजनमा रियल बेटिस च्याम्पियन बनेको थियो।
अब रियल बेटिसले उपाधिको लागि भ्यालेन्सियासँग खेल्नेछ। भ्यालेन्सिया एथलेटिको बिल्वाओलाई हराएर फाइनलमा पुगिसकेको छ । फाइनल २३ अप्रिलमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।