काठमाडौं- नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि शुक्रबार तय भएको अक्सन रोकिने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी र असन्तुष्ट ८ क्लबबीच बिहीबार अपरान्ह्र बसेको बैठकले अक्सन स्थगित गर्न एनएसएल आयोजक नेपाल स्पार्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीलाई पत्र काट्ने निर्णय गरेको हो।
आयोजक एनइएसएमले सोल्टीमा बिहान १० बजे अक्सनका लागि तयारी गरेको थियो। यद्यपि, त्यसप्रति सहिद स्मारक ए डिभिजन लिग च्याम्पिनयन मछिन्द्रसहित संकटा, न्यूरोड टिम, सातदोबाटो युथ, मनाङ मर्स्याङ्दी, थ्रीस्टार, जावलाखेल युथ, फ्रेन्ड्स क्लबले आफूहरूसँग अनुबन्ध भएका खेलाडीलाई एनएसएलले समावेश गरेर अक्सन लागेको भन्दै आपत्ती जनाएका थिए।
एन्फा पुगेका ८ क्लब र उपलब्ध एन्फाका पदाधिकारीबीचको छलफलले भोलिको अक्सन रोक्न एनइएसएमलाई पत्र काट्ने निर्णय गरेको एन्फाका महासचिव इन्द्रमान तुलाधरले नेपाल लाइभलाई जानकारी दिए।
‘क्लबहरुले चासो व्यक्त गरेपछि हामीले आज बिहान एनएसएलका आयोजकलाई बोलाएका थियौं। उहाँहरुले अहिले अक्सनमात्र हो, अक्सन गरेर वार्ताद्धारा समस्या समाधान गरौंला भन्नुभयो। त्यसपछि दिउँसो क्लब पदाधिकारीहरुसँग बस्दा उहाँहरुले आपत्ती जनाउनु भयो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।