काठमाडौं– आशिष चापागाईंको ह्याट्रिकमा चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको खेलमा चर्च ब्वाइजले टुसाल युथ क्लबमाथि ५–२ को फराकिलो जित निकालेको हो।
चर्च ब्वाइजको जितमा आशिषले ३ गोल गरे। यता, विकास राई र कुवेर न्यौपानेले समान एक–एक गोल गरे। टुसालका गिलेप्सी जंग कार्की र उत्तम शाहीले समान एक–एक गोल फर्काए।
खेलको छैटौं मिनेटमा आशिषको गोलबाट चर्च ब्वाइजले सुरुआती अग्रता लिएको थियो। १७औं मिनेटमा आशिषले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर पारे।
२१औं मिनेटमा विकासले गोल गर्दै चर्च ब्वाइजको अग्रता ३–० मा पुर्याए।
३३औं मिनेटमा आशिषले ह्याट्रिक पूरा गर्दा चर्च ब्वाइजलाई पहिलो हाफमा ४–० को अग्रता दिलाए। जारी ‘बी’ डिभिजनमा यो नै पहिलो ह्याट्रिक हो।
यता, ७२औं मिनेटमा गिलेप्प्सीले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए। तर, ८६औं मिनेटमा सब्सिच्युट कुवेरले गोल गर्दै चर्च ब्वाइजलाई ५–१ ले अघि बढाए।
८९औं मिनेटमा सब्सिच्युट उत्तमले मैदान प्रवेश गरेको पहिलो मिनेटमा गोल गर्दै खेललाई ५–२ को स्थितिमा ल्याए। त्यसपछि थप गोल निस्कन नसक्दा चर्च ब्वाइज विजयी हुन सफल भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।