काठमाडौं– यसै सिजन ए डिभिजन लिग क्लबको प्रशिक्षकमा डेब्यू गरेका विष्णु गुरुङले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा विराटनगर सिटी एफसी सम्हाल्ने भएका छन्।
विराटनगरले बिहीबार प्रेस विज्ञप्तीमार्फत् गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ। गत सिजन विराटनगरले भारतीय प्रशिक्षक यान ललाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।
गत साता सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा गुरुङको नेतृत्वमा रहेको संकटा क्लबले अंकतालिकामा सातौं स्थान हासिल गरेको थियो।
उनी सहारा एकेडेमीको पहिलो ब्याचका खेलाडी हुन्। उनीले खेलाडी जीवनबाट ब्रेक लिएपछि सहरा एकेडेमीकै प्रशिक्षकको भूमिका निर्वाह गरेकन थिए।
थ्री स्टार र संकटाका पूर्वखेलाडी समेत रहेका उनी एएफसी ए लाइसेन्सप्राप्त प्रशिक्षक हुन्।
धिमाललाई निरन्तरता
विराटनगरले मार्की खेलाडीका रुपमा रञ्जित धिमाललाई निरन्तरता दिएको छ।
धिमाल मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको उपाधि रक्षा गर्दाका महत्त्वपूर्ण सदस्य हुन्। उनी २०७६ मा मछिन्द्रले पहिलो पटक लिग जित्दा पनि त्यसका सदस्य थिए। उनी नेपालले सन् २०१६ सोलिडारिटी कपको उपाधि जित्दा पनि नेपाली राष्ट्र टोलीमा थिए।
धिमालले मैदानभित्र र बाहिर पनि टोलीको नेतृत्व सम्हाल्नेमा विश्वस्त रहेको विराटनगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रदेश एकका प्रेरणादायी खेलाडीका रुपमा रहेका उनमा विजयी मानसिकता रहेको पनि क्लबले जनाएको छ। धिमाल मोरङ उर्लाबारीका स्थायी बासिन्दा हुन्।
उनले ललितपुरको थ्रीस्टार क्लब, विभागीय टोली नेपाल सशस्त्र प्रहरी बल (एपीएफ क्लब), न्यूरोड टिम (एनआरटी) बाट पनि व्यावसायिक फुटबल खेलिसकेका छन्।
यता, विराटनगरले विदेशी खेलाडी उल्रिच सेवालाई पनि पुनः क्लबमा आबद्ध गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।