कैलाली- पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको ट्रफी सार्वजनिक गरिएको छ। धनगढी रंगशालामा आयोजक सुदूरपश्चिम-११ स्पोर्ट्स क्लबले ट्रफी सार्वजनिक गरिएको हो।
बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा ट्रफी सार्वजनिक गर्दै सुदूरपश्चिम-११ स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमालले बिहिवारदेखि आयोजना हुने गोल्डकपको सम्पूर्ण तयारी पूरा बताए।
धनगढीस्थित क्षेत्रीय रंगशालामा आयोजना हुने प्रतियोगीताको उद्घाटन खेल मनाङ मस्याङ्दी क्लब र दिल्ली एफसीबीच हुने छ।
प्रतियोगितामा १० टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ। जसमा आयोजक सुदूरपश्चिम–११, जारी लिग बिजेता मछिन्द्र फुटबल क्लब, मनाङ मस्याङ्दी, भारतको दिल्लीको फुटबल क्लब, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब र न्यूरोड टिमले सहभागीता जनाउने क्लबका अध्यक्ष हमालले बताए।
नकआउट आधारमा खेलाइने प्रतियोगिताको विजेताले ट्रफीसहित २१ लाख नगद प्राप्त गर्नेछ भने उपविजेता टोलीले ट्रफी र १० लाख नगद प्राप्त गर्नेछ।
सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्ने अध्यक्ष हमालले बताए।
प्रत्येक खेलको म्यान अफ द म्याचले १६ हजार ५ सय पाउने आयोजकले जनाएको छ। प्रतियोगिता हेर्न विद्यार्थीलाई १५० रुपैयाँ र अन्यको लागि २ सय रुपैयाँको टिकट निर्धारण गरिएको आयोजकले जानकारी दिएको छ।
प्रतियोगिताको फाइनल फागुन २८ गते हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।