काठमाडौं- श्री भगवती क्लब र सरस्वती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा बुधबार सम्पन्न खेलमा भगवतीले पहिलो खेलमा झम्सिखेल युथ क्लबलाई ३-१ ले पराजित गरेको हो।
भगवतीलाई जित दिलाउन अनिल गुरुङ, रमेश राई र मिलन खड्काले एक/एक गोल गरे। यता, झम्सिखेलका मानकुमार राईले एक गोल फर्काए।
खेलको २४औं मिनेटमा अनिलले गरेको गोलबाट भगवतीले अग्रता लिएको थियो । तर, ३७औं मिनेटमा झम्सिखेलमा खेलमा फर्कियो। उसका लागि मानकुमारले गोल गर्दै झम्सिखेललाई बराबरीमा फर्काए।
५१औं मिनेटमा रमेशले गोल गर्दै भगवतीलाई २–१ को अवस्थामा पुर्याए। त्यसपछि ६३औं मिनेटमा मिलन तेस्रो गोल गर्दै भगवतीले सहज जित दिलाए।
अर्को खेलमा सरस्वती युथ क्बले बाँसबारी क्लबलाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरूआत गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको छैटौं मिनेटमा बिक्की राईले गरेको गोलबाट बाँसबारीले अग्रता लिएको थियो। तर, त्यसलाई बाँसबारीले अन्त्यसम्म कायम राख्न सकेन।
खेलको २०औं मिनेटमा बिक्रम बिसुन्केको गोलबाट सरस्वती खेलमा फर्कियो।
यस्तै, ८६औं मिनेटमा सुजन लामाले गोल गर्दै अग्रता २-१ मा पुर्याए। खेलको इन्जुरी समयमा भुपेन्द्र शाहीले तेस्रो गोल गरेसँगै सरस्वतीले ३–१ को जित निश्चित गर्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।