काठमाडौं- राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन र राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
एनएनआईपीएको आयोजनामा गोदावरीको बज्र बहारी मन्दिर परिसरमा मंगलबार आयोजित १६औं स्पोर्टस अवार्डमा अरुणा र विराज सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्। दुवैले अवार्डसहित समान १ लाख रुपैयाँ प्राप्त गरे।
अरुणाको कप्तानीमा नेपालले महिला भलिबल टोलीले यो वर्षसहित लगातार दुई पटक एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि जितेको थियो।
यता, एक दशक भन्दा लामो समय राष्ट्रिय टोलीबाट खेलेका पूर्व कप्तान विराजले गत चैतमा थ्री नेसन्स कप पछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए।
एन्फा एकेडेमीका उत्पादन विराजले मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब र मछिन्द्र फुटबल क्लबबाट ए डिभिजन लिग उपाधि जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।