काठमाडौं– क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित हात पारेको छ। बार्सिलोनाले एथलेटिको बिल्वाओलाई घरेलु मैदानमा ४–० गोल अन्तरले पराजित गरेको हो।
आइतबार राति सम्पन्न खेलमा बिल्वाओविरुद्ध बार्सिलोनाको जितमा पिएरे इमिरिक औवामियाङ, औसमाने डेम्वेले, लुक डि जोङ र मेम्फिस डिपाएले गोल गरे। पहिलो हाफमा एक गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल थपेको थियो।
बार्सिलोनाले खेलको ३७औं मिनेटमा पिएरे इमिरिक औवामियाङको गोलबाट अग्रता लिएको थियो। दोस्रो हाफमा भने सब्सिच्युट विंगर फरवार्ड औसमाने डेम्वेले चम्किए। खेलको ६७औं मिनेटमा फेरान टोरेसको स्थानमा मैदान छिरेका डेम्वेलेले मैदान छिरेको छैटौं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। उनले अर्का सब्सिच्युट फ्रान्की डि जोङको पासमा गोल गरेका थिए।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लुक डि जोङले डेम्वेलेको पासमा गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाए। त्यसपछि इन्ज्युरी समयको तेस्रो मिनेटमा अर्का सब्सिच्युट फरवार्ड मेम्फिस डिपाएले गोल गर्दै बार्सिलोनालाई सानदार जित दिलाए। ८२औं मिनेटमा एडमा ट्राओरेको स्थानमा मैदान छिरेका डिपाएले डेम्वेलेको पासमा गोल गरेका थिए।
यो जितसँगै बार्सिलोना २५ खेलबाट ४५ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ। समान ४५ अंक रहेपनि गोलअन्तरमा एट्लेटिको मड्रिड पछि परेको छ। पराजित बिल्वाओ २६ खेलबाट ३७ अंक जोडेर आठौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।