काठमाडौं– राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टलाई नेपाल सुपर लिग (एनएसएल) को नयाँ टोली झापा फुटबल क्लबले मार्की खेलाडीमा अनुबन्ध गरेको छ।
आइतबार एक कार्यक्रममाझ झापा एफसीले यस सिजनका लागि अन्जनलाई अनुबन्ध गरेको हो।
झापाले एनएसएलको गत सिजन मार्की खेलाडीले प्राप्त गरेको भन्दा बढी रकममा अनुबन्ध गरेको दाबी गरेको छ। सम्झौता पत्रमा क्लबका महासचिव सुजन गौतम र अन्जन विष्टले हस्ताक्षर गरे।
झापा एफसीले यसअघि सी डिभिजन छनोटमा पनि प्रतिस्पर्धा गरेको थियो। एनएसएलमा यस सिजन थपिएको तीन टोलीमध्ये झापा मार्की खेलाडी सार्वजनिक गर्ने पहिलो क्लब हो।
यसअघि आयोजकले प्रतियोगिताको दोस्रो संस्करणमा स्पोर्टिङ इलामा मेची, झापा एफसी र वीरगञ्ज युनाइटेड गरी तीन टोली थपेको थियो।
झापाले प्रशिक्षकबारे पनि चाँडै जानकारी दिने बताएको छ।
यता, नेपाली राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीमगरलाई ललितपुर सिटी एफसीले मार्की खेलाडीमा अनुबन्ध गरेको छ।
विमललाई ललितपुरले ६ लाख रूपैयाँमा अनुबन्ध गरेको क्लब स्रोतले बताएको छ।
गत वैशाखमा सम्पन्न प्रतियोगिताको पहिलो संस्करणमा काठमाडौं रेजर्स, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरी सात टोलीको सहभागिता थियो। यस सिजन थप ३ टोली थपिएका हुन्।
प्रतियोगिताको पहिलो संस्करण काठमाडौं रेजर्सले जितेको थियो। एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजेमेन्ट (एनएसइएम) ले गत महिना प्रेस विज्ञप्ति जारी गर्दै एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ सम्म आयोजना हुने जनाएको छ।
यसपटक पहिलो चरण पोखरा र दोस्रो चरण काठमाडौंमा हुने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।