काठमाडौं- न्यूरोड टिम (एनआरटी)ले तेस्रो स्थानमा रहँदै सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्त्य गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अन्तिम दिन शनिबार विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एनआरटीले दोस्रो स्थान पक्का गरेको हो।
एनआरटीका लागि मेसुके ओलुमोउले ह्याट्रिक गरे। खेलमा अग्रता भने पुलिसले लिएको थियो। खेलको १२औं मिनेटमा एनआरटीका डिफेन्डर शिव गुरुङले आत्मघाती गोल गरेपछि पुलिसले अग्रता बनाएको हो।
पुलिसका रवि पासवानको सशक्त प्रहार क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरे। दोस्रो हाफको सुरुआतमै गोल गर्दै एनआरटी खेलमा फर्किएयो। ४७ औं मिनेटमा मेसुकेले कप्तान दर्शन गुरुङले उपलब्ध गराएको बलमा सहजै गोलमा परिणत गरे।
६२ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए। एरिक विष्टको फ्रि-किकमा उनले हेडरमार्फत् गोल गरे। ८३औं मिनेटमा अर्को गोल गर्दै मेसुकेले ह्याट्रिक पूरा गरे।लउनले एकल प्रयासमा गोल गरेका हुन्।
यो सिजन लिगमा ह्याट्रिक गर्ने उनी तेस्रो खेलाडी बने। यसअघि सातदोबाटोका अजायी माट्रिन्स र मनाङका ओलावाले अफिजले ह्याट्रिक गरेका थिए। लिग समाप्तिमा आर्मी र एनआरटीले समान २३ अंक जोडेका थिए।
आर्मीले दशरथ रंगशालामा शनिबार नै भएको खेलमा मनाङ मस्याङ्दीसँग १–१ को बराबरी खेल्दै दोस्रो स्थान पक्का गरेको हो।
रोमान्चक खेलमा सुरुआती अग्रता भने मनाङले बनाएको थियो। ४५औं मिनेटमा कप्तान अन्जन विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए।
पुजन उपरकोटीको कर्नरमा दिनेश राजवंशीको प्रहार गोलकिपर विकेश कुथुले रोकेपछि आएको रिबाउन्डमा अन्जनले सहजै गोल गरे। तर, ७६औं मिनेटमा मनाङका डिफेन्डर फ्रान्कलिन कुएटाले आत्मघाती गोल गरेपछि आर्मीले १-१ गोलको बराबरी गरेको हो ।
सन्तोष तामाङको फ्रि-किक मनाङका गोलकिपर अशोक बरालले रोकेपछि फ्रान्कलिनलाई लाग्दै गोल भएको थियो।
मनाङ र आर्मीको बराबरीसँगै एनआरटी तेस्रो स्थानमा रह्यो। हेड टु हेडका आधारमा आर्मी दोस्रो अर्थात् उपविजेता र एनआरटी तेस्रो भएको हो। २१ अंक जोडेको सातदोबाटो युथ क्लब चौथो र २१ मनाङ पाँचौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।