काठमाडौं- लिग च्याम्पियन बनिसकेको मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग अपराजित रहँदा सकाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको लिगको आफ्नो अन्तिम खेलमा विभागीय नेपाल एपीएफ फुटबल क्लबलाई २–१ ले पराजित गर्दै मछिन्द्र लिगमा अपराजित रहन सफल भएको हो।
मछिन्द्रको जितमा अभिषेक गुरुङ र रेजिन सुब्बाले गोल गरे। एपीएफका प्रदीप लामाले एक गोल फर्काए।
४२औं मिनेटमा अभिषेक गुरुङले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए। आन्द्रेस नियाको पासमा उनले गोलरक्षक युया अघि बढेको अवस्थामा खाली पोस्टमा गोल गरे।
खेल पछि परेको एपीएफले दोस्रो हाफमा मछिन्द्रलाई लगातार दबाबमा राखेको थियो। ६९औं मिनेटमा प्रदीप लामाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। सब्सिच्युट मणिकुमार लामाको पासमा प्रदीपले गोलरक्षक विशाल श्रेष्ठ अघि बढेको अवस्थामा खाली पोस्टमा गोल गरे।
७४औं मिनेटमा एपीएफले पेनाल्टीको अपिल गरेपनि रेफ्रीले त्यसमा कुनै प्रतिक्रिया दिएनन्। अर्मानढ विडोउमको पासमा वान भर्सेस वानको स्थितिमा ओमोलाजा नुरेन करिमले रवि थिङलाई फउल गरेका थिए।
८१औं मिनेटमा मिनेटमा रेजिन सुब्बाले आन्द्रेस नियाको पासमा गोल गर्दै मछिन्द्रलाई २–१ को अग्रता दिलाए। ८८औं मिनेटमा एपीएफ १० खेलाडीमा समेटिन पुग्यो।
आवास लामिछाने दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए। त्यसपछि थप गोल निस्कन नसक्दा मछिन्द्र विजयी भयो।
मछिन्द्रले १३ खेलबाट ३५ अंक जोड्यो। पराजित एपीएफ १३ खेलबाट १६ अंक जोडेर सातौं स्थानमा रह्यो। उपाधिसँगै मछिन्द्रले ७५ लाख र शिल्ड जितेको छ। दोस्रो भएको आर्मीले ५० लाख तथा तेस्रो भएको एनआरटीले २५ लाख रुपैयाँ पाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।