काठमाडौं– युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब चेल्सीले सहज जित निकालेको छ । घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सीले फ्रान्सेली क्लब लिललाई २–० ले पराजित गरेको हो।
स्टाम फोर्ड ब्रिजमा मंगलबार राति सम्पन्न खेलमा चेल्सीका लागि काई हाभर्टज र क्रिस्टियन पुलिसिसले गोल गरे। खेलको आठौं मिनेटमा काई हाभर्टजको गोलमा चेल्सीले सुरुवाती अग्रता लिएको थियो। उनले हाकिम जियाचको कर्नरमा हेडमार्फत गोल गरेका थिए।
खेलको ६३औं मिनेटमा क्रिस्टियन पुलिसिसले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे। उनले एंगोलो कान्टेको पासमा गोल गरेका थिए।
यो जितसँगै चेल्सीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। लिललाई अघिल्लो चरण प्रवेश गर्न कम्तीमा पनि ३–० को जितको खाँचो छ। दोस्रो लेगको खेल लिलको मैदानमा १७ मार्चमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।