काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाललाई विश्वकपमा छनोट गराउने प्रतिबद्धता दोहर्याएका छन्। आईसीसी टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा सोमबार क्यानडालाई ८ विकेटले हराउँदै सेमिफाइनलमा पुगेपछि उनले उक्त कुरा बताएका हुन्।
सोमबार क्यानडालाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो। क्यानडाले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
क्यानडालाई हराएसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बनेको छ। नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोड्यो। नेपालले पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गर्दा दोस्रो खेलमा फिलिपन्समाथि १३६ रनको विशाल जित दर्ता गरेको थियो।
अब नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता युएईसँग खेल्नेछ।सेमिफाइनलमा युएईविरुद्ध ज्यूज्यान लगाएर खेल्ने पनि सन्दीपले बताए।
‘अहिलेसम्म विश्वास गरेकोमा समर्थकहरुलाई धन्यवाद। हाम्रो तर्फबाट अहिलेसम्म शतप्रतिशत दिएका छौं। त्यसरी नै भोलि पनि ज्यूज्यान लगाएर नेपाललाई विश्वकपमा छनोट गराउने छौं,’ उनले भने।
नेपाल अस्ट्रेलियामा आयोजना हुने टी२० विश्वकप २०२२ पुग्न एक कदम टाढा रहेको छ। अब नेपालले भोलि युएईविरुद्ध खेल्नेछ। नेपालले मंगलबार सेमिफाइनलमा युएईलाई पराजित गरे आगमी अक्टोबर नोभेम्बरमा अस्ट्रेलियामा हुने टी२० विश्वकप खेल्न पाउनेछ।
समूह ‘ए’ मा रहेको युएई ३ खेलमा २ मा जित र १ मा हारसहित दोस्रो स्थानमा रहेको सेमिफाइनलमा पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।