काठमाडौं- नेपाल आईसीसी टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडालाई हराउँदै सेमिफाइनमा पुगेको छ।
सोमबार क्यानडालाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो। क्यानडाले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा कुशल भुर्तेलले अविजित ३३ रन जोड्दा दिपेन्द्रसिंह ऐरीले अविजित रहँदै २८ रन बनाए। यता, आशिफ शेख १७ रनको योगदान दिँदा कुशल मल्ल शून्य रनमै आउट भए। क्यानडाका कलिम साना र सलमान नाजरले एक/एक विकेट लिए।
त्यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड-१ मा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा अलआउट हुँदै ८० रन बनाएको थियो।
क्यानडाका लागि डिलन हेलिगरले सर्वाधिक २४ रन बनाए। २२ बलमा १ चौका र २ छक्का प्रहार गर्दै उनी अविजित रहे। यता, कप्तान नवनित धालिवालले १८ रन बनाए। उनले १४ बलमा २ चौका र १ छक्का प्रहार गरे।
यस्तै, ओपनर रयान खान पठान ११ बलमा १ चौका र १ छक्कासहित १४ रनमा रन आउट भए। यता, सलमान नाजरले १० रन बनाउँदा क्यानडाका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका सन्दीपले १२ रन दिए। यता, अविनाश बोहरा र कमल सिंह ऐरीले २/२ विकेट हात पारे। कुशल मल्लले एक विकेट लिए।
क्यानडालाई हराएसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बनेको छ। नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोड्यो। नेपालले पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गर्दा दोस्रो खेलमा फिलिपन्समाथि १३६ रनको विशाल जित दर्ता गरेको थियो।
यता, ओमान ३ खेलमा ४ अंक जोडेर समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ। ओमानले दोस्रो खेलमा क्यानडालाई ९ विकेटले पराजित गरेको थियो भने उसले समूह चरणको अन्तिम खेल फिलिपिन्ससँग खेल्दै छ।
जारी प्रतियोगितामा क्यानडा र फिलिपिन्स भने बाहिरिएको छ। अब नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता युएईसँग खेल्नेछ। यस्तै, ओमानले ‘ए’ को विजेता आयरल्याण्डसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।