काठमाडौं- आईसीसी टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडाले नेपाललाई ८१ रनको सामान्य विजयी लक्ष्य दिएको छ।
ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ टस जितेर पहिला ब्याटिङ थालेको क्यानडाले १५ ओभरमा अलआउट हुँदै ८० रन बनाएको हो। नेपालले केही बेरपछि जवाफी ब्याटिङ गर्ने छ।
क्यानडाका लागि डिलन हेलिगरले सर्वाधिक २४ रन बनाए। २२ बलमा १ चौका र २ छक्का प्रहार गर्दै उनी अविजित रहे। यता, कप्तान नवनित धालिवालले १८ रन बनाए। १४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै आक्रमक खेल्ने प्रयास गरेका उनलाई कमलसिंह ऐरीले पाँचौं ओभरको तेस्रो बलमा लोकेश बमबाट क्याच गराए।
यस्तै, ओपनर रयान खान पठान ११ बलमा १ चौका र १ छक्कासहित १४ रनमा रन आउट भए। उनलाई कमल र अविनाश बोहोराले रन आउट बनाए। यता, सलमान नाजले १० रन बनाउँदा क्यानडाका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
तीव्र गतिका बलर कमलसिंह ऐरीले पहिलो ओभरको पाँचौं बलमा सट खेल्नेक्रममा म्याथ्यू स्पोर्स फाइनल लेगमा कुशल भुर्तेलबाट शून्यमा क्याच आउट गराए।
युवा ओपनर स्पोर्सले जारी प्रतियोगितामा फिलिपिन्सविरुद्ध डेब्यू गर्दै १ सय ८ रनको शतकीय इनिङ्स खेलेका थिए। उनी टी२० आई डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडीसमेत हुन्।
मध्यक्रमका रविन्द्रपाल सिंह र हम्जा तारिक पनि नेपाली बलरसामु टिक्न सकेनन्। सिंहलाई पाँचौं ओभरको अन्तिम बलमा अविनाशले विकेट किपर आसिफ शेखबाट क्याच आउट गराए।
यता, कप्तान सन्दीप लामिछानेले छैटौं ओभरको अन्तिम बलमा हम्जालाई एलबीडब्ल्यू आउट बनाए। लगत्तै सातौं ओभरको तेस्रो बलमा साद बिन जफर रन आउट हुन पुगे।
सिंह र हाम्जाले १/१ रन बनाउँदा जफरले २ रन बनाए। यता, कलीम साना, हर्ष ठाकर र जुनेद सिद्दिकी पनि क्रिजमा टिक्न सकेनन्। सानालाई १ रनमा ८औं ओभरको अन्तिम बलमा सन्दीपले कुशल मल्लबाट क्याच गराए।
यता, हर्षलाई ९औं ओभरको पहिलो बलमा २ रनमा कुशल मल्लले बोल्ड गरे भने सिद्दीकीलाई सन्दीपले आसिफबाट क्याच गराए। सिद्दीकी १०औं ओभरको अन्तिम बलमा आउट भएका थिए। उनले २ रन बनाए।
नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका सन्दीपले १२ रन दिए। यता, अविनाश बोहरा र कमल सिंह ऐरीले दुई–दुई विकेट हात पारे। कुशल मल्लले एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।