काठमाडौं– नेपालस्थित पाकिस्तानी दूतावासको आयोजनामा यही फागुन १८ गतेबाट सातौं संस्करणको नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ।
पाकिस्तान दूतावासले सोमबार पत्रकार सम्मेलन गरी १२ टोलीलाई समावेश गर्दै प्रतियोगिता यही फागुन १८ देखि २६ गतेसम्म संचालन गर्ने जानकारी गराएको हो।
लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा आयोजकले सहभागी १२ टोलीलाई चार समूह विभाजन गरि सञ्चालन गर्ने जनाएको छ। जसअन्तर्गत समूह ‘ए’मा पाकिस्तान दूतावास क्रिकेट क्लब, एचके क्रिकेट क्लब र लायन क्रिकेट क्लब रहेका छन् भने समूह ‘बी’ मा स्टार क्रिकेट एकेडेमी, बाल पार्क एकेडेमी तथा जीएचसीए समावेश छन्।
यस्तै, समूह ‘सी’ मा आरएस विद्यापिठ एकेडेमी, एन्जल्स हार्ट एकेडेमी र क्रिकेट एक्सिलेन्स सेन्टर तथा समूह ‘डी’ मा स्कुल अफ क्रिकेट, बालुवाटार क्रिकेट क्लब तथा नेक्सस क्रिकेट एकेडेमी रहेका छन्।
चार समूहका विजेताहरु सेमिफाइनल प्रवेश गर्नेछन्। दुई देश तथा खेलप्रेमीबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर शाहले बताए।
यस्तै, नेपालको तर्फबाट एकेडेमीको प्रतिनिधित्व गरेको नेपाल क्रिकेट टिमका पूर्वकप्तान तथा क्रिकेट एक्सिलेन्स सेन्टरका संस्थापक पारस खड्काले प्रतियोगितामा युवा क्रिकेटरले अनुभव संगाल्ने मौका भएको बताए।
धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा हुने प्रतियोगिताको विजेताले प्राप्त गर्ने ट्रफी पनि पत्रकार सम्मेलनमा सार्वजनिक पनि गरिएको थियो। नौ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल पाकिस्तान दूतावासले एचके क्रिकेट क्लबविरुद्ध खेल्ने तालिका रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।