कालीकोट- कालीकोटको तिलागुफा नगरपालिका–१ को भिग्ममा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयको समन्वय र तिलागुफा नगरपालिकाको आयोजनामा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
शिविरमा बिरामीको स्वास्थ्य जाँच गर्नुका साथै कोभिड–१९ विरुद्धको खोप दिइएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका निमित्त प्रमुख डा रत्नवीर सुनारले जानकारी दिए। ‘नागरिकमा स्वाथ्यको पहुँच वृद्धि गर्नका लागि निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको हो,’ उनले भने,‘जिल्लाका विभिन्न ठाउँमा शिविर सञ्चालन गर्ने योजना रहेको छ।’
शिविरमा करिब एक सय जनाको स्वास्थ्य जाँच गरिएको र जटिल खालका बिरामीलाई जिल्ला अस्पताल कालीकोटमा उपचारका सिफारिस गरिएको तिलागुफा नगरपालिका स्वास्थ्य सहायक नन्दा मल्लले जानकारी दिए। ‘जटिल खालका बिरामीलाई जिल्ला अस्पताल कालीकोट र अन्य स्वास्थ्य संस्थामा उपचारका लागि सिफारिस गरेका छौं,’ उनले भने,‘सामान्य खालका बिरामीलाई शिविरमै औषधि उपचार गरिएको छ।’
घुम्ती शिविरमा कोभिड–१९ विरुद्धको पहिलो, दोस्रो मात्रा र बुस्टर डोजको खोप दिइएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका निमिक्त प्रमुख डा सुनारले बताए। जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले सबैलाई कोभिड–१९ विरुद्धको खोप दिने लक्ष्यसाथ घुम्ती शिविर सञ्चालन गर्दै आएको र जिल्लाका विभिन्न स्थानमा घुम्ती शिविरलाई तीव्रता दिने डा सुनारले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।