सप्तरी– प्रदर्शनकारीले सप्तरीको सप्तकोसी नगरपालिका कार्यालय भवन तोडफोड गरेका छन्। तालाबन्दी गर्न सुरक्षा निकायले रोकेपछि प्रदर्शनकारीले भवन तोडफोड गरेका हुन्। तोडफोडबाट कार्यालयको सिसा, सवारी साधन, कम्प्युटर, डिजिटल सूचना बोर्डलगायतका सामानमा क्षति पुगेको नगर प्रमुख उत्तम गौतमले आइतबार एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन्।
कार्यालय तोडफोड गर्ने तथा जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई भौतिक चोट पुर्याउने घटनाप्रति नगरपालिकाले विज्ञप्तिमार्फत खेद पनि व्यक्त गरेको छ।
कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बिहीबार नगरपालिकामा गरेको तालाबन्दी शुक्रबार खोलेपछि आइतबार पुनः ताला लगाउन जाँदा सो घटना भएको हो। प्रदर्शनकारीले नगरपालिकाको कोभिडको खर्च र आन्तरिक लेखा परीक्षणको विवरण, राष्ट्रिय मावि फत्तेपुरको भवन निर्माणको ठेक्का प्रक्रिया र अङ्ग्रेजी माध्यम कक्षा सञ्चालन खर्च व्यवस्थापनको विवरण उपलब्ध गराउनुपर्ने, आर्थिक वर्ष २०७८/०७९ मा नगरभित्रका सम्पूर्ण ११ वटै वडाका योजना कार्यान्वयन हुनुुपर्ने माग राख्दै ताला लगाएका थिए। माग सम्बोधन नगरी नगरपालिकाले आफूखुसी ताला खोलेर द्वन्द्व निम्ताएको सङ्घर्ष समितिको भनाइ छ।
आन्दोलनरत पक्षलाई वार्ताका लागि पटक–पटक बोलाए पनि नआएपछि नागरिक समाज र प्रहरी प्रशासनका रोहबरमा निर्णय गरी ताला खुलाएको नगर प्रमुख शर्माको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।