काठमाडौं– कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले जिल्ला अदालतको न्यायाधीश नियुक्त गर्न अन्तर्वार्ताका लागि ३ जनाको नाम सिफारिस गरेको छ।
लोक सेवा आयोगले लिएको लिखित परीक्षामा उत्तीर्ण भएका ३ जनाको नाम अन्तर्वार्ताका लागि सिफारिस गर्ने निर्णय भएको हो। लोक सेवा आयोगले जिल्ला न्यायाधीशका लागि १८ जनाको लिखित परीक्षा लिएकोमा ३ जना मात्रै उत्तीर्ण भएका हुन्।
जिल्ला अदालतको न्यायाधीशको अन्तर्वार्ताका लागि सिफारिस हुनेमा ओमबहादुर सोडारी, चन्द्रकुमार पोखरेल र भुवन गिरी छन्।
यसअघि प्रधानन्यायाधीश (हाल निलम्बित) चोलेन्द्र शमशेर राणाले जिल्ला अदालतका न्यायाधीश सिफारिसका लागि बैठक आह्वान गरेको भएपनि हालका कामु प्रधानन्यायाधीश कार्कीसहित कानुनमन्त्री दिलेन्द्र बडु, महान्यायाधिवक्ता खम्म बहादुर खातीले बहिस्कार गरेका थिए।
आइतबार कामु प्रधानन्यायाधीश कार्कीको अध्यक्षतामा बसेको बैठकमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश मीरा खड्का, कानुनमन्त्री बडु, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खाती सहभागी थिए।
बैठकले जिल्ला अदालतका न्यायाधीशको मौखिक परीक्षा (अन्तर्वार्ता) फागुन २९ गते लिने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।