काठमाडौं– लिभरपुलले इंग्लिस प्रिमियर लिगमा पुनरागमन जित निकालेको छ। लिभरपुलले पुछारमा रहेको नर्विच सिटीमाथि ३–१ को पुनरागमन जित निकालेको हो।
एनफिल्डमा शनिबार राति सम्पन्न खेलमा लिभरपुलको जितमा साडियो माने, मोहम्मद सलाह र लुइस डियाजले गोल गरे। नर्विचका मिलोट रासिकाको गोल सान्त्वना बन्यो। खेलको सबै गोल दोस्रो हाफमा नै भएको थियो।
घरेलु मैदानमा नर्विचलाई दवावमा राखे पनि लिभरपुल ४८औं मिनेटमा मिलोट रासिकाको गोलबाट पछि परेको थियो। उनले जोसुआ सार्गेन्टको पासमा गोल गरेका थिए।
नर्विचको अग्रता लामो समय टिक्न सकेन। खेलको ६४औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए। खेलको ६७औं मिनेटमा मोहम्मद सलाहले गोलरक्षक एलिसन बेकरको पासमा गोल गर्दै लिभरपुलाई २–१ को अग्रता दिलाए।
खेलको ८१औं मिनेटमा लुयस डियाजले गोल गर्दै लिभरपुलको जित पक्का गरे। उनले कप्तान जोर्डन हेन्डरसनको पासलाई सदुपयोग गरेका थिए।
जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी ६ मा छोट्याएको छ। लिभरपुलको २५ खेलबाट ५७ तथा समान खेलबाटै शीर्षस्थानमा रहेको सिटीको ६३ अंक छ। पराजित नर्विच १७ अंक जोडेर पुछारमा रहँदा रेलिगेसन दवाव बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।