काठमाडौं– लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ। शनिबार राति सम्पन्न खेलको अन्तिमतिर हाकिम जियाचले गोल गर्दै चेल्सीलाई जित दिलाएका हुन्।
चेल्सीले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा १–० ले हराएको हो। सेलह्रस्ट पार्कमा शनिबार राति भएको खेलमा जियाचले गरेको गोल नै चेल्सीको जितमा निर्णायक बन्यो। उनले ८९औं मिनेटमा गोल गरेका थिए।
प्रतिस्पर्धात्मक बनेको खेलका बल पोसेसन भने चेल्सीको नियन्त्रणमा थियो। खेलको ७५औं मिनेटमा हाकिम जियाचले गोल गरेपनि उनको गोलले मान्यता पाएन। उक्त गोलको मुभमा उनी अफसाइड ठहरिएका थिए।
यो जितसँगै तेस्रो स्थानमा रहेको चेल्सीको २५ खेलबाट ५० अंक पुगेको छ। चेल्सी शीर्षस्थानको म्यानचेस्टर सिटीसँग १३ अंकले तथा दोस्रो स्थानको लिभरपुलसँग ६ अंकले पछि छ। पराजित क्रिस्टल प्यालेस २६ अंक जोडेर १३औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।