काठमाडौं- ‘रेलिगेसन ब्याटल’मा फ्रेन्ड्स क्लबसँग हार बेहोर्दै च्यासल युथ क्लब तेस्रो सिजनमै सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट घटुवा भएको छ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा फ्रेन्ड्ससँग २–१ को हार बेहोर्दै च्यासल लिगको एक खेल बाँकी छँदै शीर्ष डिभिजनबाट घटुवा भएको हो।
फ्रेन्ड्सको जितमा जमोल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे। उनले ६ मिनेटको अन्तरमा दुई गोल गरेका थिए। च्यासलका मौसा एवागानाले एक गोल फर्काएपनि हार टार्न सकेन।
३८औं मिनेटमा जमोल एन्थोनी फ्रान्कोइसले गोल गर्दै फ्रेन्ड्सलाई १–० को अग्रता दिलाए। रोनेल एन्थोनी पउलको लामो पासलाई कप्तान नाथानिल जुडे गार्सियालाई हेडरमार्फत् मिलाइदिएको पासमा फ्रान्कोइसले अभिषेक लिम्बुलाई बिट गर्दै गोलरक्षक प्रदीप भण्डारी अघि बढेको अवस्थामा खाली पोस्टमा गोल गरे।
४३औं मिनेटमा जमोल एन्थोनी फ्रान्कोइसले पेनाल्टीमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे। अभिषेक लिम्बुले पेनाल्टी बक्समा जमोल एन्थोनी फ्रान्कोइसलाई फउल गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले फ्रेन्ड्सलाई पेनाल्टी दिएका थिए। जसमा उनी आँफैले गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर पारे।
५६औं मिनेटमा मौसा एवागानाले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए। पेनाल्टी बक्समा गोलरक्षक राहुल रामचन्द्र यादवले राजीव लोप्चनमाथि फउल गर्न पुगेपछि रेफ्री क्षेत्रीले च्यासललाई पेनाल्टी दिएका थिए।
इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा विकास मेराग्लियाको क्रसमा कुशल फुयालको फ्रि हेडर गोलरक्षक राहुलको हातमा पुग्दा च्यासल बराबरीबाट चुक्दा रेलिगेसनमै पर्यो।
फ्रेन्ड्ससँगको हारसँगै च्यासलको १२ खेलबाट ६ अंक छ। अब बाँकी एक खेलमा जित हात पारेपनि च्यासलको रेलिगेसन टर्ने छैन। च्यासलले लिगको अन्तिम खेलमा सातदोबाटोसँग खेल्न बाँकी छ।
च्यासलले लिगको १२ खेलमा १ जित, ३ बराबरी र ८ हार बेहोर्यो। च्यासलले लिगमा एपीएफलाई मात्रै १–० ले हराउन सफल भएको थियो।
जितसँगै फ्रेन्ड्सको १२ खेलबाट १० अंक पुगेको छ। एक खेल कम खेलेको जावलाखेल युथ क्लबको १० तथा नेपाल पुलिसको ११ अंक छ। एक खेल कम खेलेको ब्रिगेड ब्वाइज क्लब ९बीबीसी०को ७ अंक छ।
२०६४ मा ‘सी’ डिभिजनको लागि छनोट चरण खेलेको थियो। २०६६ मा ‘सी’ डिभिजन लिगको उपविजेताको रुपमा च्यासलले ‘बी’ डिभिजनमा बढुवा भएको थियो।
त्यसको सातवर्ष च्यासल २०७२ मा ‘बी’ डिभिजन च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा भएको थियो। त्यसपछि एक सिजन खेल्न नपाउने भएपनि २०७४ मा लिग नहुँदा च्यासलले २०७५ मा शीर्ष डिभिजन खेलेको थियो।
च्यासलले २०७५ को रेलिगेसनविनाको र २०७६ को लिग खेलेको थियो। दुवै सिजनमा च्यासल अंक तालिकामा मध्य टोलीको रुपमा रहेपनि यसपटक रेलिगेसनमा परेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।