काठमाडौं- आईसीसी टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत दोस्रो खेलमा अहिले नेपालले फिलिपिन्सविरुद्व ब्याटिङ गरिरहेको छ।
ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ भएको टसमा फिलिपिन्सका कप्तान जोनाथन हिलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन्। ब्याटिङमा उत्रिएको नेपालले खराब सुरूआत गरेको छ।
पहिलो ओभरमा कुशल भुर्तेलले आक्रमक खेल्दै ८ रन बनाएका थिए। तर, दोस्रो ओभरमा उक्त आक्रमक सुरूआतलाई निरन्तरता दिनेक्रममा आसिफ शेखले शून्य रनमै विकेट गुमाए।
फिलिपिन्सका ड्यानियल स्मीथले आफ्नो पहिलो ओभरको पहिलो बलमै आसिफको विकेट लिएका हुन्।
नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ। नेपालले तीव्र गतिका बलर गुल्सन झा टी२० आईमा डेब्यू गर्ने भएका छन्। उनी कमलसिंह ऐरीको स्थानमा खेल्ने छन्।
यता, घाइते शरद भेषावकर र विवेक यादवको स्थानमा कुशल मल्ललाई मौका दिइएको छ।
फिलिपिन्स पहिलो खेलमा क्यानडासँग १ सय १८ रनको फराकिलो अन्तरले पराजित भएको थियो। नेपालले घरेलु टोली ओमानलाई ३९ रनले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।