काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी समितिको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कार्यविधि र बजेटको खाका तयार गर्न वा तथा खेलकुद मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको बैठकले १ वर्षअघि नै सम्पन्न हुनु पर्ने नवौं राष्ट्रिय खेलकुद कोभिड– १९ का कारण सम्भव नभएकाले यसै वर्ष आयोजना सम्बन्धी समय निर्धारण, आयोजना तथा व्यवस्थापन कार्यविधि र बजेट व्यवस्थाको खाका तयारीका लागि अविलम्ब युवा तथा खेलकुद मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको हो।
खेलकुद मन्त्री महेश्वरजंग गहतराजको उपस्थितिमा कार्यकारी समितिका संयोजक राखेपका निमित्त सदस्य–सचिव कुलबहादुर थापाको संयोजत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले राखेपको विभिन्न पद तथा श्रेणीमा कार्यरत अत्यावश्यक करार तथा मासिक ज्यालादारी कर्मचारीको असार मसान्तसम्म म्याद थप गर्ने निर्णय पनि गरेको छ। उनीहरुको गत पुस मसान्त मै म्याद समाप्त भएको थियो।
त्यस्तै, चीनको होन्जाउमा हुने १९ औं एसियाली खेलकुदमा नेपालको उपयुक्त सहभागिता र बजेटका लागि खेलकुद मन्त्रालयमा अनुरोध गर्ने तथा रुसमा हुने सातौं चिल्ड्रेन अफ एसिया इन्टरनेसनल स्पोर्ट्स गेम्समा नेपालबाट कुन–कुन खेलहरु समावेश गर्न खेलाडी छनोट गर्ने र सहभागितालाई बजेट व्यवस्थाका लागि अनुरोध गर्ने निर्णय समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।