काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाइजी टोली सनराइजर्स हैदरावादका सहायक प्रशिक्षक साइमन क्याटिचले राजीनामा दिएका छन्। उनी यसै साता सम्पन्न मेगा अक्सनका लागि हैदरावादसँग खुसी थिएनन्।
यस सम्बन्धमा क्याटिच र टोलीबाट कुनै प्रतिक्रिया नआए पनि उनले तत्कालै राजीनामा दिएका छन्। क्याटिचले यसअघि कोलकाता नाइट राइडर्सका सहायक प्रशिक्षक र रोयल च्यालेन्जर्स बैंग्लोरका मुख्य प्रशिक्षकका रूपमा काम गरिसकेका छन्।
यस अक्सनमा उनीसँगै कोचिङ स्टाफका सदस्य टम मुडी, ब्रायन लारा, मुरलीधरन र हेमाङ बदानी पनि सहभागी थिए। अक्सनलगत्तै उनले १३ फेब्रुअरीमा राजीनामा दिएको ‘द अष्ट्रेलियन’ले जनाएको छ।
अक्सनमा हैदरावादलेले निकोलस पूरन (१०.७५ करोड), वाशिंगटन सुन्दर (८.७५ करोड), राहुल त्रिपाठी (८.५ करोड), रोमारियो शेफर्ड (७.७५ करोड) र अभिषेक शर्मा (६.५ करोड)लाई किनेको थियो। मेगा अक्सनअघि हैदरावादले कप्तान केन विलियम्सन, युवा अब्दुल समद र उमरान मलिकलाई रिटेन गरेको थियो।
टोलीका मुख्य प्रशिक्षक ट्रेभर बेलिस र सहायक प्रशिक्षक ब्राड ह्याडिनले पनि २०२१ सिजनपछि राजीनामा दिएका छन्। भीभीएस लक्ष्मण पनि टोलीको मेन्टरको भूमिका त्यागेर राष्ट्रिय क्रिकेट एकेडेमी, बैंगलोर गएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।