फाइल तस्बिर
काठमाडौं- आईसीसी पुरुष टी२० विश्वकप क्रिकेटको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा टस हारेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।
समुह ‘ए’ को पहिलो खेलमा नेपाल र आयोजक ओमानले प्रतिश्पर्धा गर्न लागेका हुन्। खेल नेपाली समयअनुसार अहिले ११ः४५ मा सुरु हुनेछ।
नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेले स्पिनर सागर ढकाल, तीव्र गतिका बलर गुलशन झा र शरद भेषावकरलाई बेन्चमा राखेका छन्। ओपनिङमा आसिफ शेख र कुशल भुर्तेललाई निरन्तरता दिइएको छ। यस्तै, मध्यक्रममा दीपेन्द्रसिंह ऐरी र ज्ञानेन्द्र मल्ल हुनेछन्।
नेपालले पाँच ब्याटर, चार बलर र दुई जना अलराउन्डर खेलाएको छ। स्पिनरमा सन्दीप लामिछानेलाई मात्र प्रमुख बलरको रुपमा खेलाएको छ। उनलाई दीपेन्द्रले पार्टटाइम बलरको रुपमा साथ दिनेछन्। नेपालका तीन प्रमुख तीव्र गतिका बलर कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अभिनाश बोहरा मैदान उतारिएको छ।
यसअघि ओमानमा नै भएको चार देशीय टी२० श्रृङ्खलामा पनि नेपाल र ओमानबीच प्रतिश्पर्धा भएको थियो। उक्त खेलमा नेपालले टस जितेर ओमानलाई ब्याटिङको निम्तो दिएको थियो। उक्त खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो।
दोस्रो खेलमा नेपालले भोलि फिलिपिन्ससँग खेल्नेछ भने तेस्रो खेल क्यानाडाविरुद्ध सोमबार खेल्नेछ। समूह ‘ए’ मा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स तथा समूह ‘बी’ मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन्। हरेक समूह शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउने छन्।
नेपालको प्लेइङ ११
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव र लोकेश बम।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।