काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी वैशाखबाटै नयाँ शैक्षिक सत्र सुरु गरिने र जेठ १ गतेबाट कक्षा सञ्चालन हुने बताएका छन्।
शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालय काठमाडौँ महानगरपालिका–१७ ठहिटीको नयाँ भवनको आज उद्घाटन गर्दै मन्त्री पौडेलले आगामी तीन वर्षभित्र सबै सार्वजनिक विद्यालयका भवन बनाउने पनि बताए।
पूर्वाधार निर्माणसँगै ‘पढ्दै कमाउँदै’ कार्यक्रम अघि बढेकाले केही दिनभित्र अर्थ मन्त्रालयबाट बजेट स्वीकृत गरी निवेदन दिएका विद्यालयमा सोही कार्यक्रम जाने पनि उनले बताए। शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन विद्यालयमा ल्याब, आइसीटी ल्याबको व्यवस्था गरिएको बताउँदै शिक्षक दरबन्दी र १८ वर्षदेखि रोकिएको आन्तरिक बढुवाको काम अघि बढेको बताए।
यसैबीच, मन्त्री पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने विषयमा अर्थमन्त्री जर्नादन शर्मासँग छलफल गरेका छन्। बिहीबार मन्त्री पौडेलले धितो राखेर ऋण दिने विषयमा छलफल गर्नुभएको हो । सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई प्रमाणपत्र धितो राखी कर्जा दिने कार्यक्रम समेटेको थियो। बजेटमा सहुलियतपूर्ण ब्याजदरमा २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराइने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।