काठमाडौं- गोल्डेनगेट लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ।
तीन टिम रहेको समूह ‘डि’ को लिग खेलमा गोल्डेनगेटले क्याम्पियन सोलोलाई ७७–६३ ले पराजित गर्दै समूह विजेता बन्यो। विजेताका कर्मा गुरुङले २७ अंक जोडे। क्याम्पियनका मनीष राजोपाध्यायले १७ स्कोर गरे। लिगको आफ्नो पहिलो खेलमा गोल्डेनगेटले एसीसीएसलाई हराएको थियो।
पहिलो क्वाटरमा १६–१४ को अग्रता लिएको गोल्डेनगेट दोश्रोमा १३–१४ ले पछि पर्यो। बाँकी क्वाटरको नतिजा आफ्नो पक्षमा पारेको गोल्डेनगेटले १६–१२ र ३२–२३ अंक जोड्यो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामा रोयल बास्केटबल एकेडेमीले दोहोरो जित निकाल्यो।
महिलाको प्रतिस्पर्धात्मक भिडन्तमा रोयलले नेपाल प्रहरी क्लबलाई ५१–५० को साँघुरो अन्तरले हरायो। रोयलकी छिरिङ शेर्पाले २४ अंक जोड्दा प्रहरीकी रोशनी श्रेष्ठले १५ स्कोर गरिन्।
तेश्रो क्वाटर सकिँदासम्म प्रहरी ३५–३३ ले अगाडि थियो। अन्तिम तथा चौथो क्वाटरमा रोयलले १८–१५ स्कोर गर्दै समग्रमा खेल १ अंकले जित्यो। त्यसअघि रोयल सुरुका दुई क्वाटरमा ६–११ र ९–१० ले पछि थियो। तेश्रो क्वाटरमा रोयलले १८–१४ स्कोर गर्दै अंक अन्तरलाई छोट्याएको थियो।
पुरुषमा रोयलले जेभियर इन्टरनेसनल कलेजलाई ९८–६७ ले पन्छायो। रोयलका विकास गुरुङले २२ तथा जेभियरका अनिश मगरले १५ अंक बटुले। सबै क्वाटरमा अग्रता बनाएको रोयलले १५–१४, २७–२१, २८–२० र २८–१२ अंक जोड्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।