काठमाडौं- गृह मन्त्रालयले पाँच जिल्लामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को काज सरुवा गरेको छ। गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट पाँच जिल्लामा प्रजिअको काज सरुवा गरेका हुन्।
सरुवा गरिने प्रजिअमा दुई सहसचिव र तीन उपसचिव छन्। मन्त्रीस्तरीय निर्णयबाट धनकुटामा युवराज कट्टेल र नुवाकोटमा नारायण रिसाललाई प्रजिअ बनाएर पठाइएको हो। उनीहरू दुबै जना सहसचिव हुन्।
कट्टेल भर्खरै सहसचिवमा बढुवा भएका हुन् भने रिसाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सरुवा भएर गृह मन्त्रालयमा आएका थिए।
त्यस्तै, रुकुमपूर्वमा कृष्णबहादुर खड्का, हुम्लामा सिता परियार र जाजरकोटमा रामबहादुर शाहीलाई प्रजिअ बनाएर पठाइएको छ। यी तीनै जना उपसचिव हुन्।
खड्का लाहान इलाका प्रशासन कार्यालयको प्रमुख, परियार भक्तपुरको सहायक प्रजिअ र शाही एयरपोट अध्यागमन कार्यालयमा कार्यरत थिए।
त्यस्तै, तीन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि परिवर्तन गरिएका छन्। जाजरकोटमा प्रजिअ रहेका प्रेम देवकोटालाई बर्दियामा सहायक प्रजिअ बनाएर पठाइएको छ। हुम्लाका प्रजिअ गणेश आचार्यलाई एयरपोट अध्यागमनमा पठाइएको छ। बर्दियाका सहायक प्रजिअ माधव शर्मालाई भक्तपुरमा सहायक प्रजिअ बनाएर पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।