काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टोलीको अवस्था सन्तुलित रहेको बताएका छन्।
आईसीसी टी२० विश्वकप ग्लोबल छनोट ‘ए’ अन्तर्गत पहिलो खेलमा शुक्रबार आयोजक ओमानसँग खेल्नुअघि उनले तयारी राम्रो गरेकाले टोलीको अवस्था सन्तुलित रहेको बताए।
‘तयारी पनि राम्रो गरेका छौं। टोलीको अवस्था एकदमै राम्रो छ। पछिल्ला तीन चार दिनमा मिटिङ र अभ्यासहरुमा हामीले सबै गल्ती महसुस गर्दै तयारी गरेका छौं,’ सन्दीपले भने।
उनले तीव्र गतिका बलर करण केसी नहुँदाले पनि केही फरक नपर्ने आशय व्यक्त गरे। विश्वकप छनोट खेल्नु अघि टोलीका प्रमुख अलराउन्डर करणको ब्याक इन्जुरीको कारण प्रतियोगितानै गुमाउने भएका छन्।
करणको स्थानमा नेपालले तीव्र गतिका बलर गुलशन झालाई टोलीमा बोलाएको छ। ‘करण केसी नहुनु हाम्रो लागि दुर्भाग्य हो। हामीलाई उहाँ जस्तै खेलाडी चाहिएपछि गुलशनलाई बोलाएका हौं। जितेन्द्र, कमल र अभिनाश तीनै जनाले राम्रो गर्नुभएको छ’, सन्दीपले भने।
नेपाल र ओमानबीचको खेल महध्यान्नह ११:४५ मा अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ। समूह ‘ए’ मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन्। समूह ‘बी’ मा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स छन्।
नेपालले शुक्रबार ओमान, शनिबार फिलिपिन्स र सोमबार क्यानडासँग खेल्नेछ। शीर्ष दुईमा रहन सके मंगलबार सेमिफाइनल खेल्नेछ। फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी२० विश्वकप खेल्न पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।