काठमाडौं- विभागीय टोली नेपाल आर्मी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ। एक खेल अगावै आर्मी क्वाटरफाइनलमा पुग्न सफल भएको हो।
समूह ‘बी’ को लिग खेलमा आर्मीले शंकरदेव क्याम्पसलाई ११३–५६ ले पराजित गर्यो। आर्मीका सौरव श्रेष्ठ र शंकरदेवका राजेश ठकुरीले समान १८ अंक जोडे। आर्मीको जितसँगै यो समूहमा रहेको अर्को टोली ड्रिम टिम पनि क्वाटरफाइनल पुगेको छ। ३ टिम रहेको समूह ‘बी’ मा यसअघि ड्रिमले शंकरदेवलाई हराएको थियो। आर्मी र शंकरदेवबीचको खेलले समूह विजेताको टुंगो लगाउने छ।
सुरुआतमा २७–१० को अग्रता लिएको आर्मी दोश्रोमा २६–६ ले अगाडि रह्यो। आर्मीले अग्रतालाई कायम राख्दै तेश्रो र चौथोमा समान ३०–२० अंक जोड्यो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुषकै अर्को प्रतिस्पर्धामा कीर्तिपुरले एचआईके भिजनलाई ७८–५९ ले हराउदै लगातार दोश्रो जित दर्ता गर्यो। प्रतियोगिताको उद्घाटन खेलमा कीर्तिपुरले बीएमकेलाई हराएको थियो। कीर्तिपुरका लागि सुरज खड्गीले १७ स्कोर गर्दा एचआईकेका विजय लामाले १६ अंक बटुले।
पहिलो क्वाटरमा २५–१३ ले अघि बढेको कीर्तिपुर दोश्रोमा ९–२० ले पछि रहँदा खेल ३३–३३ को बराबरी अवस्थामा पुगेको थियो। कीर्तिपुरले तेश्रोमा १९ र चौथोमा २५ अंक जोड्दा एचआईकेले दुवैमा समान १३ स्कोर गर्यो।
नेपाल बास्केटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको महिला राउन्ड रोविन लिगमा ललितपुर हाइले कीर्तिपुरमाथि ९३–२८ को सहज जित निकाल्यो।
ललितपुरकी एलिना गुरुङले १५ तथा कीर्तिपुरकी झरना वज्राचार्यले १८ स्कोर गरे।
ललितपुर चारै क्वाटरमा हावी रह्यो। कीर्तिपुरले कुनैपनि क्वाटरमा दोहोरो अंकको स्कोर छुन सकेन। ललितपुरले ३०–९, १८–९, २१–६ र २४–४ अंक जोड्दै सहज जित निकाल्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।