काठमाडौं- ढलौटका मूर्ति चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले मूर्ति चोरेर ठमेलबाट डल्लुतर्फ जाँदै गरेको अवस्थामा उनीहरुलाई बुधबार पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका– ५ का १८ वर्षीय सुदीप नेपाली र रसुवा गोसाइँकुण्ड गाउँपालिका– ५ का १८ वर्षीय रमेश बागदास रहेका छन्।
पक्राउ परेकासँग प्रहरीले दुई किलो १०० ग्राम गणेशको मूर्ति, एक किलो ३०० ग्रामको गणेशको मूर्ति, एक किलो २०० ग्रामको गणेशको मूर्ति र एक किला ५०० ग्रामको बुद्धको मूर्ति बरामद गरिएको छ। उनीहरूले ज्याकेटभित्र लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको मैनालीले जानकारी दिए।
पक्राउ परेका उनीहरूलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद–२० अन्तर्गत दफा २४१ को ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।