काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत ११औं चरणको खेलमा थ्रीस्टार क्लब र विभागीय नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा थ्रीस्टारले अग्रता जोगाउन नसक्दा पुलिससँग १–१ गोलको बराबरी खेलेको हो। १८औं मिनेटमा अन्सुमाना क्रोमाहको सशक्त प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले उत्कृष्ट बचाउ गरे।
२१औं मिनेटमा ऋतिककुमार खड्काले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए। हेमन्त थापामगरको क्रसलाई पुलिसका डिफेन्डर र गोलरक्षक शत्रुघनले क्लियर गर्न नसकेको बललाई सन्जोक राईले हेडरमात्रै मिलाइदिएको पासलाई ऋतिकले गोल गरे।
दोस्रो हाफको सुरुमै जुमानु राई र भोलानाथ सिलवाल मैदान प्रवेश गरेपछि पुलिसले सुधारिएको खेल पस्कियो। ५३औं मिनेटमा पेनाल्टी बक्सबाहिर कप्तान अशोक खवासले ह्यान्ड गरेपछि तेज तामाङको फ्रिकिकमा सुमन सुवेदीले हेडरमार्फत् गोल गरे।
त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन। यो बराबरीसँगै थ्रीस्टार ११ खेलबाट १८ अंक जोडेर चौथो स्थानमा यथावत् रहेको छ । पुलिस ११ अंका जोडेर १०औं स्थानमा यथावत् छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।