काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाइज टोली कोलकाता नाइट राइडर्सले भारतीय राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याटर श्रेयस ऐरलाई नयाँ कप्तानमा नियुक्त गरेको छ।
कोलकाताले बुधबार ऐर कप्तानमा नियुक्त गरेको जानकारी दिएको हो। ऐर मध्यक्रमका भरपर्दा ब्याटर हुन् । भारतीय किकेटको भविष्यको कप्तानको रुपमासमेत हेरिएको छ।
ऐरको कप्तानीमा दिल्ली क्यापिटल्स २०२० मा पहिलो पटक आईपीएलको फाइनलमा पुगेको थियो। तर, दिल्लीले नयाँ सिजनको लागि उनलाई रिलिज गरेको थियो।
यसै साता सम्पन्न आईपीएलको मेगा अक्सनमा कोलकताले ऐरलाई १२ करोड २५ लाख भारुमा अनुबन्ध गरेको थियो। अक्सनमा ऐरलाई किन्न दिल्लीसहित लखनऊ सुपर जायन्ट, कोलकताबीच कडा प्रतिस्पधा भएको थियो। सन् २०१५ देखि दिल्लीबाट आईपीएल खेल्दै आएका ऐरले ८७ खेलमा १६ अर्धशतकसहित २ हजार ३ सय ७५ रन बनाएका छन्।
दिल्लीमा २०१८ मा गौतम गम्भिरले कप्तानी छाडेपछि ऐरले उक्त जिम्मेवारी निर्वाह गरेका थिए। त्यो सिजन लिगबाटै बाहिरिएपनि २०१९ मा प्लेअफ यात्रा तय गरेको थियो। ऐरको कप्तानीमा दिल्लीले पछिल्ला तीनै संस्करणमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।
यता, गौतमको कप्तानीमा कोलकाताले २०१२ र २०१४ मा उपाधि जितेको थियो। यस सिजनमा ओईन मोगर्नको कप्तानीमा फाइनलमा पुगेको थियो। तर, मोर्गनलाई फुकुवा गरेपछि कोलकत्ता नयाँ कप्तानको खोजिमा थियो।
कोलकाताको यसअघि सौरभ गांगुली, ब्रेन्डम म्याकुलम, गौतम गम्भीर, दीनेश कात्तिक हुँदै ओईन मोर्गनले कोलकाताको कप्तानी गरिसकेका छन्।
ऐरको कप्तानीमा कोलकाता तेस्रो उपाधिको लक्ष्यमा हुने छ। यो सिजनमा कोलकाताले अक्सनमा श्रेयस ऐरसँगै प्याट कमिन्स, साम बिलिंग्स, टिम साउथी, एलेक्स हेल्स, मोहम्मद नाबी, उमेश यादवलगायतका चर्चित खेलाडी भित्र्याएको छ। आन्द्रे रसेल, सुनिल नारायण, बरुण चक्रवर्ती र वेंकटेश ऐरलगायतका खेलाडीलाई भने निरन्तरता दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।