काठमाडौं- रक्तचन्दनको ठेक्का मिलाइदिने भनि सेवाग्राहीसँग ७० लाख घुस लिएर फरार रहेका जिल्ला वन कार्यालय, रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्रसहित ३ जनाविरुद्ध वुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। त्यस्तै यसरी उठाएको घुसको रकम खातामा जम्मा गर्ने मिश्रका छोरा नविनकुमार मिश्रलाई पनि अख्तियारले मुद्दा दायर गरेको छ।
उनलाई ४० लाख विगो दाबी गरिएको छ। उनले बुवाको खातामा उक्त रकम जम्मा गरेका थिए। त्यस्तै मिश्रलाई घुस बापत रकम उपलब्ध गराई मिलेमतो गर्ने ग्याल्जेन एण्ड तामाङ्ग प्रा.लि. र रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेनलाई पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
ग्याल्जेनले २५ लाख दिएको पुष्टि हुन आएको हुँदा सोही रकम बराबर विगो र भ्रष्टाचार निवारण ऐन अनुसार कैद गर्न अख्तियारको आरोपपत्रमा माग गरिएको छ।
त्यस्तै ४५ लाख रुपैया सेवाग्राहीसँग लिएर वन अधिकृत मिश्रलाई दिएको देखिएकाले यसमा पनि उनलाई मतियारको रुपपा सजाय हुनुपर्ने माग अभियोगपत्रमा गरिएको छ। तर ग्याल्जेनको मुत्यु भएको अनुसन्धानवाट खुलेकाले मरेको व्यक्तिको हकमा समेत सरकारी वा निजी बिगो क्षतिपूर्ति वा रकम भराउन सकिने कानुनी व्यवस्था रहेकोले घुस बापतको रकम ७० लाख विगो जफत गर्नका लागि प्रतिवादी बनाउने अभियोगपत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।