काठमाडौं- प्रतिनिधि सभाको बुधबारको बैठक पनि नेकपा एमालेले अवरोध गरेको छ। ५७ दिनपछि बसेको प्रतिनिधि सभाको बैठक १० मिनेटमै स्थगित भएको हो।
बुधबारको बैठक सुरु हुनासाथ एमालेका सांसद्हरुले नाराबाजी गर्दै वेल घेराउ गर्न अघि बढेका थिए। उनीहरुले उभिएर केही बेर नाराबाजी गरेपछि सभामुखले सदनको महत्त्व सुनाएका थिए।
'अवरोधबाट सभाको गतिशीलतामा असर परेको छ। आम नागरिकका दैनिक समस्याहरु, जनप्रतिनिधिले सदनमार्फत सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने, कानुन निर्माण एवं निगरानी गर्ने कार्यहरुसमेत अवरोधका कारण प्रभावित हुन पुगेकोले आफ्नो भूमिकाप्रति संवेदनशील हुन, अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न म सम्बन्धित माननीय सदस्यहरुलाई अनुरोध गर्दछु', उनले भनेका थिए।
सभामुख सापकोटाको मन्तव्यलाई अवरोधकर्ता एमालेका सांसद्हरुले बेवास्ता गरिरहे। त्यसपछि उनले प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूलाई थारु आयोगको तेस्रो प्रतिवेदन पेस गर्न अनुमति दिए। त्यसपछि उनले पूर्वसांसद्हरुको निधनमा शोक प्रस्ताव प्रस्तुत गरे। र पारित पनि भयो।
प्रतिनिधि सभाको चालु दशौं अधिवेशन मंसिर २८ गतेदेखि सुरु भएको हो। यसबीचमा सभाको बैठक केवल तीन पटक मात्रै बसेको छ। मंसिर २८, पुस ६ र पुस ७ गते बसेको बैठक बीचमा पटकपटक स्थगित हुँदै आएर बुधबार बसेको हो। तर, यसबीचमा संसद् अवरोधलाई अन्त्य गर्ने कुनै सहमति जुटेन।
सभामुख सापकोटादेखि प्रधानमन्त्री देउवासम्मले आह्वान गरेको सर्वदलीय बैठक नेकपा एमालेले बहिस्कार गर्दै आएको छ।
बुधबार त उसले कार्यव्यवस्था परामर्श समिति बैठक समेत बहिस्कार गर्योक। उसले अघिल्लो अधिवेशनदेखि कायम राखेको आफ्नो माग र नाराहरुलाई अद्यापि दोहोर्याैइरहेको छ।
प्रतिनिधि सभाको नवौं अधवेशन भदौ २८ मा सुरु भएको थियो। सो अधिवेशन कात्तिक १२ गते स्थगित भएको थियो।
सो अधिवेशनमा प्रतिनिधि सभाका बैठकहरु असोज ४ (छैटौं), असोज ७ (सातौं), असोज ११ (आठौं), असोज १४ (नवौं), असोज १९ (दशौं), असोज २२ (एघारौं), असोज २५ (बाह्रौं) र कात्तिक ११ (तेह्रौं) मा बसेका थिए। कात्तिक ११ मा बसेको बैठक कात्तिक २९ गतेका लागि स्थगित भएको थियो। तर कात्तिक ११ मै बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक १२ गतेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो।
यसरी भदौ २८ देखि कात्तिक ११ गतेसम्म गरी ५१ दिनका १३ बैठकभर एमालेले अवरोध गरेको थियो।
नवौं अधिवेशनको सुरुवातमा आक्रामक भएको एमालेका सांसद्हरु विवादित पनि बनेका थिए। मर्यादापालकको ढाडमा चलेर रोस्ट्रममा पुग्न खोज्ने, माइक हान्न खोज्ने जस्ता व्यवहारको आलोचना हुन थालेपछि उनीहरुले लिखित रुपमा तयार गरेका नाराहरु मात्रै दोहोर्याएएका थिए।
उनीहरुको नारा थियो- 'पार्टी फुटाउने षडयन्त्र मुर्दावाद, गैरसांसद्लाई प्रवेश निषेध गर, संसदीय मर्यदा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर।'
उनीहरुको मागहरु अहिले पनि तिनै छन्। तर, अधिवेशन सञ्चालन भएका दिनहरु मात्रै जोड्दा नवौं अधिवेशनमा ५१ र दशौं अधिवेशनका ६५ गरी ११६ दिनसम्म प्रतिनिधि सभा बैठक अवरोध भइसकेको छ।
त्यसो त, सिंगो अधिवेशनभर संसद् अवरोध गर्ने एमालेको रेकर्ड २०५७ सालमै बनेको हो। सो वर्ष माघ २६ देखि चैत २३ गतेसम्म ५७ दिनसम्म चलेको अधिवेशन एमालेको नेतृत्वमा भएको अवरोधले निरर्थक भएको थियो।
मुख्यगरी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजीनामा मागेर गरिएको अवरोधले कुनै परिणाम ल्याएन, बरु संसदीय इतिहासको एउटा बदनाम कालखण्डको रुपमा चित्रित भएर बसेको छ।
संसद् अवरोध गरिएको दिनको आधारमा एमालेले वर्षौंपछि आफ्नै रेकर्ड तोडेको छ। कुनै राजनीतिक चमत्कार नभएको स्थितिमा एमालेले यसपटक राखेका मागहरु पनि पूरा हुने देखिँदैन। परिणामतः दुईवटा सिंगो अधिवेशनभर अवरोध गरेको नयाँ रेकर्ड पनि बन्ने छ।
०००
कसरी बित्दैछन् दशौं अधिवेशनका दिनहरु?
मंसिर २८ गते (दिउँसो २ बजे)- प्रतिनिधि सभाको दशौं अधिवेशन प्रारम्भ। बैठक बस्यो। अर्को बैठक ६ गते बस्ने गरी स्थगित।
पुस ६ गते (दिउँसो १ बजे)- बैठक बस्यो। अर्को बैठक पुस ७ गते (दिउँसो १ बजे) बस्ने गरी स्थगित।
पुस ७ गते (दिउँसो १ बजे)- बैठक बस्यो। अर्को बैठक पुस १८ गते (दिउँसो १ बजे) बस्ने गरी स्थगित।
पुस १८ गते (दिउँसो १ बजे)- 'विशेष कारणवश' सूचना टाँसेर बैठक स्थगित। सोही दिन सूचना टाँस गरी अर्को बैठक पुस २२ गते (दिउँसो १ बजे) लाई तोकिएको।
पुस २२ गते (दिउँसो १ बजे)- 'विशेष कारणवश' बैठक स्थगित। पुस २१ गते सूचना टाँस गरेर पुस २८ गते (दिउँसो १ बजे) सम्मका लागि स्थगित गरिएको।
पुस २८ गते (दिउँसो १ बजे)- स्थगित। पुस २६ गते सूचना टाँस गरेर माघ ३ गते (दिउँसो १ बजे) सम्मका लागि स्थगित गरिएको हो।
माघ ३ गते (दिउँसो १ बजे)- 'कोभिड-१९ को बढ्दो संक्रमणको कारण' बैठक स्थगित। अर्को बैठक माघ १६ गते (दिउँसो १ बजे) बस्ने। माघ २ गते सूचना टाँस गरेर जानकारी गराइएको।
माघ १६ (दिउँसो १ बजे)- 'कोभिड-१९ को संक्रमणको जोखिम यथावत् रहेको कारण' बैठक स्थगित। माघ १५ गते सूचना टाँस गरेर अर्को बैठक माघ २६ गतेसम्मका लागि स्थगित गरिएको।
माघ २६ गते (दिउँसो १ बजे)- 'विशेष कारणले' बैठक बस्न नसक्ने भएकाले स्थगित। माघ २५ गते सूचना टाँस गरेर फागुन २ गते (दिउँसो १ बजे) सम्मका लागि स्थगित गरिएको।
फागुन २ गते (दिउँसो १ बजे)- अर्को बैठक फागुन ४ गते बस्ने गरी स्थगित।
फागुन ४ गते (दिउँसो १ बजे)- बैठक बस्यो। अर्को बैठक फागुन ६ गते (दिउँसो १ बजे) सम्मलाई स्थगित।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।