काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत बुधबार सम्पन्न खेलमा विभागीय टोली त्रिभुवन आर्मी र हिमालयन शेर्पा क्लबले अंक बाँडेका छन्।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरुआती अग्रता जोगाउन नसक्दा १० खेलाडीमा समेटिएको आर्मी हिमालयन शेर्पासँग १-१ गोलको बराबरी रोकिएको हो।
खेलको २६ औं मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए। टेकबहादुर बुढाथोकीको पासा उनले गोल गरेका थिए।
तर, आर्मीले उक्त अग्रता जोगाउन सकेन। खेलको ६५ औं मिनेटमा मुताम्बा पिस्टोनले गोल गर्दै हिमालयनलाई १-१ गोलको बराबरीमा ल्याए। उनले आशिष गुरुङको पासमा मध्ये भागबाट काउन्टरमा गोल गरे।
खेलको इन्ज्युरी समयमा गोलकिपर विकेश कुथुले रातो कार्ड पाएपछि आर्मी १० खेलाडीमा समेटिएको थियो।
यस बराबरीसँगै आर्मीले ११ खेलमा १९ अंक जोडेको छ। आर्मी लिगको तेस्रो स्थानमा रहेको छ।
यता, हिमालयन शेर्पाले समान खेलबाट १३ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।