काठमाडौं– इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा सानदार जित हात पारेको छ।
सिटीले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीमाथि उसकै मैदानमा ५–० गोल अन्तरले पराजित गरेको हो। लिसवोआमा मंगलबार राति सम्पन्न खेलमा सिटीको फराकिलो जितमा पोर्चुगिज मिडफिल्डर बर्नाडो सिल्भाले दुई तथा रियाद महारेज, फिल फोडेन र रहिम स्टर्लिङले समान एक÷एक गोल गरे।
सिटीले पहिलो हाफमा चार तथा दोस्रो हाफमा एक गोल गरेको थियो। खेलको सुरुवातदेखि नै आक्रामक देखिएकोे सिटीले सातौं मिनेटमा रियाद महारेजको गोलबाट अग्रता लिएको थियो।
फिल फोडेनको प्रहारलाई स्पोर्टिङका गोलरक्षक एन्टेनियो एडानले बचाएपनि नियन्त्रणमा लिन नसकेको बलाई केभिन डि ब्रुएनले दिएको पासमा रियादले गोल गरेका थिए।
खेलको १७औं मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे भने ३२औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३–० ले अघि बढाए। खेलको ४४औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि सिटीले पहिलो हाफमै ४–० को अग्रता बनायो।
खेलको ५०औं मिनेटमा बर्नाडो सिल्भाले गोल गरेपनि उनको गोलले भिएआरबाट मान्यता पाएन। खेलको ५८औं मिनेटमा
रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई ५–० ले अघि बढाए। त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो। प्रिमियर लिगको शीर्षस्थानमा रहेको सिटीविरुद्ध स्पोर्टिङ निरीह देखियो।
अब दोस्रो लेग सिटीको मैदानमा ९ मार्चमा हुनेछ । उक्त खेलमा स्पोर्टिङलाई अघिल्लो चरण प्रवेश गर्न कम्तीमा पनि ५–० कै जित निकाल्नुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।