काठमाडौं– ब्रिगेड ब्वाईज र च्यासल युथ क्लबले काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा गोलरहित बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा फ्रेन्ड्स क्लबले उत्कृष्ट पुनरागमन गरेको छ।
तीन गोलले पछि परेको फ्रेन्ड्सले बराबरी खेल्दै जावलाखेल युथ क्लबविरुद्ध अंक खोस्न सफल भएको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा ब्रिगेडले तालिकाको पुछारमा रहेको टोली च्यासलसँग रोकिन पुगेको हो।
रेलिगेशन संकट टार्न जितको खोजीमा मैदान उत्रिएका दुवै टोलीले राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न चुकेका थिए। पहिलो हाफमा च्यासलमाथि हाबी भएको ब्रिगेडको अग्रतपंक्तिको लाइन चल्न असफल रहेको थियो।
सोही क्रममा खेलको छैटौं मिनेटमा मनोज राईको कर्नरमा ब्रिगेडका बेर्टराण्ड इबोडे ओट्टोउको फ्रि हेडर पोस्टमाथिबाट बाहिरिएको थियो। १४औं मिनेटमा च्यासलका अजित गुरुङको क्रसमा विकास मेराग्लियाको प्रहार निकै फितलो भएको थियो।
१६औं मिनेटमा ब्रिगेडका मनोज राईको फ्रि–किक पोस्ट माथिबाट बाहिरिएको थियो। त्यसपछिको पहिलो हाफको खेलमा दुबै टोली अवसरका लागि मात्र प्रतिस्पर्धा गरे। दोस्रो हाफमा पनि दुवै टोली आक्रामक रणनीतिका साथ मैदान उत्रिए। तर, पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाँड्दै तालिकामा यथावत रहे।
बराबरीसँगै ब्रिगेडले ११ खेलमा ७ अंक जोडेको छ। ब्रिगेड रेलिगेशन क्षेत्र १३औं स्थानमा रहेको छ। च्यासल पनि ११ खेलबाट ५ अंकका साथ तालिकाको पुछारमा छ।
सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न अर्को खेलमा रेलिगेशन क्षेत्र भन्दा एक स्थानमाथि कमजोर अन्तरमा रहेको फ्रेन्ड्सले तीन गोलले पछि परेको अवस्थालाई उल्टाउँदै अंक खोस्न सफल भयो।
पहिलो हाफमा जावलाखेल युथविरुद्ध निरीह बनेको फ्रेन्ड्सले दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेको थियो। पहिलो हाफमा जावलाखेल हावी हुँदा लोइक एन्जीमी कोउहिमले दुई गोल गरेका थिए भने रुपबहादुर लामाले एक गोल आफ्नो नाममा लेखाएका थिए।
उता बराबरी गोल फर्काएको फ्रेन्ड्सका लागि दुवै गोल विदेशी खेलाडीले गरे। जमउल एन्थोनी फ्रान्सिओसले दुई तथा नाथनियल जुड ग्रासियाले एक गोल गर्दै टोलीलाई हारबाट जोगाएका हुन्। बराबरीसँगै फ्रेन्ड्सका रेलिगेशनबाट बच्ने सम्भावन जीवितै रहेको छ।
बराबरीले फ्रेन्ड्स रेलिगेशन क्षेत्र भन्दामाथि गोल अन्तरका आधारमा १२औं स्थानमा अटाएको छ भने जावलाखेल १० खेलबाट एकमाथि ११औं स्थानमा छ।
लिगमा बुधबार तीन खेल हुनेछन्। एन्फा मुख्यालयमा दिनको १ बजे हुने खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले हिमालयन शेर्पाविरुद्ध खेल्ने छ। सोही समयमा दशरथ रंगशालामा तालिकाको शीर्ष स्थानमा रहेको मच्छिन्द्र र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। यस्तै, दशरथ रंगशालामा नै हुने दिनको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।