काठमाडौं– महिलामाथि जबरजस्ती करणी (बलात्कार) गरेको मुद्दामा दोषी ठहर भएका अभियुक्त २४ वर्षपछि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा संखुवासभाको मकालु गाउँपालिका–१ स्थायी घर भइ काठमाडौंको इछङ्गुनारायण–२ ठूलो भर्याङ बस्ने ४० वर्षीय मिङ्तेम्वा शेर्पा छन्। शेर्पालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सोमबार काठमाडौंको ठूलो भर्याङबाट पक्राउ गरेको हो।
सीआईबीका अनुसार पक्राउ परेका शेर्पासहितले १९ पुस २०५४ मा मकालु गाउँपालिकाअन्तर्गत पर्ने चत्चेक भन्ने स्थानमा एउटा महिलामाथि सामूहिक बलात्कार गरेका थिए।
घर फर्किँदै गरेकी महिलालाई एक्लै फेला पारी ज्यान मार्ने धम्की दिइ बलात्कार गरेको अभियोगमा शेर्पालाई संखुवासभा जिल्ला अदालतले दोषी ठहर गरेको थियो। अदालतले उनीविरुद्ध ५ वर्ष कैद र आधा सम्पत्ति बराबर पीडित महिलालाई क्षतिपूर्ति भराउन फैसला सुनाएको थियो।
अदालतको फैसला पछि पनि फरार रहेका उनलाई गोप्य सूचनाको आधारमा सीआईबीको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो।
पक्राउ परेका शेर्पालाई फैसला कार्यान्वयनका लागि मंगलबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको सीआईबीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।