काठमाडौं– तीव्र गतिका बलर करण केसीले शुक्रबारदेखि सुरू हुने आईसीसी टि२० विश्वकप ग्लोबल छनोट गुमाउने भएका छन्। ब्याक इन्ज्युरी ठिक नभएपछि उनको स्थानमा तीव्र गतिका अर्का बलर गुलशन झालाई ओमान पठाउने तयारी भइरहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले गुलशनलाई ओमान पठाउन लागिएको पुष्टि गरेका हुन्। ‘करणको ब्याक इन्ज्युरी ठिक नभएकाले उनको सट्टामा गुलशनलाई पठाउन लागिएको हो,’ उनले नेपाल लाइभसँग भने, ‘भिसा प्रक्रिया पूरा गरेर गुलशन दुईदेखि तीन दिनमा ओमान पुग्ने छन्।’ नेपालले शुक्रबार घरेलु टोली ओमानसँग खेल्दै विश्वकपको सुरुआत गर्ने छन्।
करणले ब्याक इन्ज्युरीको कारण चार देश सम्मिलित टी२० आई सिरिज पनि गुमाएका थिए। नेपालले उक्त सिरिजमा ओमानलाई ६ विकेटले हराउँदा युएईसँग २५ र आयरल्यान्डसँग १६ रनले पराजित भएको थियो।
आयरल्यान्डसँग पराजित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले करणको समस्या ठिक नभएको भन्दै आज बिहानसम्म ठोस निर्णय लिने बताएका थिए। उनकै सल्लाहअनुसार गुलशनलाई करणको स्थानमा क्यानले ओमान पठाउन लागेको हो।
नेपालले विश्वकप छनोटको लागि अन्तिम १४ सदस्य टोली आज (मंगलबार) घोषणा गर्ने तयारी गरेको छ।गत असोजमा आइसिसी टि२० विश्वकप लिग २ अन्तर्गत अमेरिकासँग डेब्यू गरेका गुलशन तीव्र गति र तल्लोक्रममा ब्याटिङको क्षमता राख्छन् । गुलशनले अमेरिकासँग डेब्यू खेलमा २८ रन बनाएका थिए।
बलिङमा भने उनको प्रदर्शन खासै सन्तोषजनक रहेको छैन। यसअघि सुरुआती ३० सदस्य बन्द प्रशिक्षणमा रहेपनि प्रधानमन्त्री कपमा अपेक्षा अनुसार प्रदर्शन नभएपछि उनी बाहिरिएका थिए। नेपालले पहिलो खेल १८ फेब्रुअरीमा ओमानसँग खेल्नेछ। नेपाल सेमिफाइनल हुँदै फाइनल पुग्न सके आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी२० विश्वकप खेल्न पाउनेछ।
नेपाल रहेको समूह बी मा आयोजक ओमानसँगै फिलिपिन्स र क्यानडा रहेका छन्। समूह ए मा बहराइनसँगै टेस्ट राष्ट्र आयरल्यान्ड, युएई र जर्मनी छन्। शीर्ष दुई दुई टोली सेमिफाइनल खेल्नेछन्। फाइनल पुग्ने टोली विश्वकपको लागि छनोट हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।