काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले जितको लागि धेरै हतार आयरल्यान्डसँग पराजित हुन पुगेको स्वीकार गरेका छन्।
सोमबार ओमान क्रिकेट एकेडेमीमा सम्पन्न खेलमा १६ रनले पराजित भएपछि उनले सिंगल डबलको महत्त्व नबुझ्दा हारको सामना गर्न परेको बताए।
‘टी२० क्रिकेटमा सिंगल डबलको महत्त्व आजको खेलले बुझाएको छ,’ उनले भने,‘हामी ब्याटिङमा अझै सिक्ने क्रममा छौं। जितको लागि हामी धेरै हतार गर्यौं।’
दीपेन्द्रसिंह ऐरीले घातक बलिङ गर्दै ४ विकेट लिएपछि टस हारेर ब्याटिङ गरेको आयरल्यान्ड २० ओभरमा १२७ रनमा अलआउट भएको थियो।
तर, जवाफी ब्याटिङ्मा आएको नेपाली टोली एक ओभरको अन्तरमा दुई अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल र शरद भेषावकरलाई सस्तैमा गुमाएपछि दबाबमा परेको थियो।
‘क्रिकेट भनेको सामान्य कुरा हो। आयरल्यान्ड भन्ने बितिक्कै हामीले धेरै कुरा सोच्नु पर्ने थिएन। दीपेन्द्रले र सबैले बलिङमा राम्रो गरे,’ उनले भने,‘ब्याटरहरुले गल्ती महसुस गर्नु हुनेछ।’
चार देशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो। यस्तै, दोस्रो खेलमा युएईसँग २५ रनले पराजित भएको थियो। आयरल्यान्डले ओमानलाई ९ विकेटले हराउँदा युएईसँग १३ रनले स्तब्ध बनेको थियो।
अब नेपालले शुक्रबारदेखि ओमानमै हुने टी२० विश्वकप छनोट खेल्नेछ। विश्वकप छनोटको पहिलो खेलमा नेपालले घरेलु टिम ओमानसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।