काठमाडौं– ब्राजिली क्लब पाल्मेइरसलाई अतिरिक्त समयमा पराजित गर्दै इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ। पाल्मेइरसलाई २–१ ले पराजित गर्दै चेल्सी पहिलोपटक क्लब विश्वकपको च्याम्पियन बनेको हो।
आवुधावीस्थित मोहम्मद विन जायद रंगशालामा शनिबार राति भएको खेलको निर्धारित समयको १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समया लम्बिएको थियो। अतिरिक्त समयमा काई हाभर्टजले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई च्याम्पियन बनाए।
चेल्सीका लागि रोमेलु लुकाकु र काई हाभर्टजले गोल गरे। पाल्मेइरसका राफयल भेइगाले एक गोल फर्काए। खेलको ५५औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए।
चेल्सीको अग्रता लामो समय टिकेन। ६४औं मिनेटमा राफयल भेइगाले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा लम्विएको थियो ।
११७औं मिनेटमा काईले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई च्याम्पियन बनाए। पेनाल्टी बक्समा कप्तान सिजर एज्पिलिक्वेटाको प्रहारलाई लुआन गार्सियाको हातमा लागेको भन्दै चेल्सीले अपिल गरेपनि रेफ्रीले सुरुवातमा कुनै प्रतिक्रिया पछि भिएआरको सहायता लिदै चेल्सीलाई पेनाल्टी प्रदान गरेको थियो ।
अतिरिक्त समयको थप गरिएको छैटौ मिनेटमा लुआन गार्सिया दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिरिएपछि पाल्मेइरस १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो।
यो सिजनमा चेल्सीको यो दोस्रो उपाधि हो। यसअघि चेल्सीले गत अगस्टमा स्पेनिस क्लब भिल्ला रियललाई हराउँदै युइएफए सुपर कपको च्याम्पियन बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।