काठमाडौं- राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङ र थ्रीस्टारले १-१ गोलको बराबरी खेलेका हुन्। बराबरीसँगै तालिकाको दोस्रो स्थानमा रहेको मनाङलाई उपाधि होडमा धक्का लागेको छ भने शीर्ष स्थानको मच्छिन्द्रलाई ६ अंकको अग्रता मिलेको छ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए। दोस्रो हाफमा स्पष्ट जितका लागि आक्रामक खेल खेलेका दुवै टोलीले एक/एक गोल गर्दै अंक बाँडे। ६२औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान पसेका दयानन्द सिंहले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए।
कप्तान अञ्जन विष्टको क्रसमा दयानन्दले हेडरमार्फत् गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। तर, मनाङको अग्रता धेरै समय टिकेन। ७१औं मिनेटमा ऋतिक खड्काले गोल गर्दै थ्रीस्टारलाई १-१ गोलको बराबरीमा ल्याएपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन सकेन।
बराबरीसँगै मनाङले १० खेलमा २० अंक जोडेको छ। मनाङ लिगको दोस्रो स्थानमा यथावत् रहँदा थ्रीस्टार १० खेलमा १७ अंक जोडेर चौथो स्थानमा रहेको छ।
लिगमा आइतबार दुई खेल हुने छन्। दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छन्। पहिलो खेल न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा तथा दोस्रो खेल आहा राराको पछिल्लो संस्करणको विजेता एपीएफ र संकटा क्लबबीच प्रतिस्पर्धा हुने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।